उद्योग वाणिज्य संघ दार्चुलाले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ताला लगाएको छ । व्यापारीले भन्सार काटेरै भित्र्याएको समान प्रहरीले अवैध भन्दै छापा मारेको विरोधमा उद्योग वाणिज्य संघले ताला लगाएको हो ।
उद्योग वाणिज्य संघ दार्चुलाका कार्यवाहक अध्यक्ष विशनसिह बोहराका अनुसार पटकपटक प्रहरीले व्यापारीहरुलाई दुख दिएको भन्दै तालाबन्दीमा उत्रिनु परेको बताए । तीनै सुरक्षाकर्मीले समानको भन्सार कटाउन लगाउँछन् । फेरि आफै व्यापारीको पसल बन्द गराएपछि छापा हान्छन् । ९ बजे पसल बन्दै गराउँदै हिड्ने अनि १० बजे आएर छापा मार्ने कामको विरोध गरेका हौं बोहराले भने ।
प्रहरीले महाकाली नगरपालिका–४ मल्ला मल्ला बाङ्गाबगडमा बिरबहादुर बोहराले संचालन गरेको बीएम जनरल स्टोरको गोदामबाट भारतबाट भन्सार छली गरि ल्याएका २ लाख ३७ हजार ६ रुपैयाँ मूल्य बराबरको सामान गएराति बरामद गरेको थियो ।
यस्तै बोहराको गोदामबाट भन्सार छलीका चिनी, बिडी, खाने तेल, चप्पल, खुद्रा किराना लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए ।
यस्तै नौगाड गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ मल्ला बाङ्गाबगड बस्ने करन सिंह ठगुन्नाले संचालन गर्दै आईरहेको ठगुन्ना किराना पसलको गोदामबाट पनि ४७ हजार ४७० मूल्य बराबरको भन्सार छली गरि ल्याएका सामान जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको थियो ।
ठगुन्नाको गोदामबाट भन्सार छली गरि ल्याएका आटा, चामल, खानेतेल, चिनी, चप्पल लगायतका सामान प्रहरीले बरामद गरेको छ। खानतलासी गर्दा फेला परेका सामानसहित बोहरा र ठगुन्ना दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा तालाबन्दी गरेपछि आवतजावत ठप्प बनेको छ ।


दार्चुलामा व्यापारीले लगाए नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ताला




