व्याँस गाउँपालिका–२ दुम्लीङका स्थानीयको दैनिक आवतजावत महाकाली नदीमा तुइनमार्फत हुने गर्छ । तर त्यो तुइन पनि भारतीय सुरक्षाकर्मीले काटिदिएपछि यहाँका स्थानीयको आवतजावत ठप्प बनेको छ ।
कुटानिपिसानीदेखि खाद्यान्न ढुवानी भारतबाटै हुने गर्छ । सदरमुकाम खलंगासम्म आउजाउँ त्यहिँ तुइनबाट स्थानीयले गर्दै आएका थिए । तर भारतीय स्वतन्त्रता दिवसमा समस्या हुने भन्दै एसएसबीले तुइन काटिदिएको हो । स्थानीयले नेपाल–भारत जोड्ने गरी महाकाली नदी माथि फलामे तारको सहारा बनाएका थिए ।
अहिले नेपाल–भारत जोड्ने झोलुङ्गे पुल गाउँभन्दा दुई घण्टाको दुरीमा छ । पुलको लागि पटकपटक पहल गर्दा पनि सुनुवाइ हुन नसकेको व्याँस गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष धीरनसिह बुढाथोकीले बताए । दुम्लीङमा झोलुङ्गे पुल नहुँदा यस क्षेत्रमा वर्षेनी स्थानीयको ज्यान जाने गरेको छ ।
महाकाली नदी वारपार गर्न दार्चुलाको लेकम देखि व्याँसको सीतापुलसम्म दर्जन झोलुङ्गे पुल निर्माण गरिएका छन् । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा तुइन तथा ट्युब विस्थापन अभियानअन्तर्गत आधा दर्जनबढि झोलुङ्गे पुल बने । तर व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लीङमा भने अहिलेसम्म झोलुङ्गे पुल नहुँदा स्थानीय अझै पनि तुइनकै सहारामा आवतजावत गर्न बाध्य छन् ।
स्थानीय प्रभाकर बुढाथोकी यस्तै अवस्था रहे दुम्लीङ्गबासीको आवतजावत पूरै ठप्प हुने अवस्था आएको बताउँछन् । मालघाट भएर आउजाउ गर्न पनि घोरेटो बाटो ठाउँ ठाउँमा अवरुद्ध छ । झोलुङ्गे पुलसम्म पुग्ने सकिने अवस्थाको बाटो छैन् । पुल पुग्न पनि ४ घण्टा बढि समय लाग्छ । अहिले परराष्ट्रमन्त्री आरजु राणा भारत भ्रमणको बेला दुम्लीङ्ग झोलुङ्गे पुलको विषय उठाइ दिनुपर्छ उनले भने ।
नेपाली सेनाले निर्माण गरिरहेको तुसरपानी–दुम्लीङ्ग–तिंकर सडक निर्माणकार्य चाडो सम्पन्न भएमात्रै दुम्लीङबासीलाई सहज हुन्छ, । अहिलेको अवस्थामा विरामी भयो भने पनि अस्पताल पु¥याउन बाटोघाटो छैन् ।
वर्षेनी एक दुई जनाको तुइनबाटै खसेर ज्यान जाँदा पनि राज्यको ध्यानाकर्षण हुन नसकेको उनको आरोप छ । यहाँका विद्यार्थी सदरमुकाम खलंगा पढ्न आउँछन् । कहिलेकाही घर जानुपर्दा समेत समस्या हुने गरेको छ । अभिभावकबीना केटाकेटी एक्लै पठाउन सकिने अवस्था छैन् । नेपाल सरकारले दार्चुला तिंकर सडक निर्माणमा भइरहेको ढिलासुस्तीका कारण पनि यहाँका जनताले दुख पाएका छन् ।
साउन १४ गते दार्चुलाबासीकोतर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुम्लीङमा झोलुङ्गे पुल निर्माणको लागि आवश्यक पहल गरिदिन निवेदन दिइएको छ । जिल्लाबासीको तर्फबाट नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेशसिह ठगुन्ना नेतृत्वको टोलीले ज्ञापन बुझाएको थियो ।
तुइन तथा ट्युब विस्थापन कार्यक्रम अन्तर्गत नेपाल–भारत जोड्न लाली, बाँकु, बडूगाउँ, तिग्रम, मलघट्टे र मालमा झोलुङ्गगे पुल निर्माण गरिएको छ । यस्तै जोलजीवि, दत्तु, खलंगा र व्याँसमा झोलुङ्गे पुल सञ्चालनमा छ । महाकाली नगरपालिका–८ स्थित काकडामा नेपाल–भारत जोड्ने मोटरवेल पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।


दुम्लीङमा तुइन काटिदा आवतजावत ठप्प !




