आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठका खेल आज (बुधबार)देखि सुरु हुँदै छन् । अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेको विश्वकपअन्तर्गत सुपर आठदेखि सेमिफाइनल र फाइनल खेल भने वेस्ट इन्डिजमा मात्रै हुने छन् । समूह चरणका केही खेलहरु अमेरिकामा भएका थिए ।
बुधबार पहिलो सुपर आठको खेलमा दक्षिण अफ्रिका र अमेरिका आमने सामने हुने छन् । समूह चरणमा दक्षिण अफ्रिका समूह ‘डी’बाट विजेताको रुपमा रहेको थियो भने अमेरिका समूह ‘ए’को उपविजेता हो ।
सुपर आठको खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सर भिभिएन रिचार्ड्स स्टेडियममा हुने छ । दक्षिण अफ्रिकाले लगातार विश्वकप खेल्दै आए पनि अमेरिका भने पहिलो पटक विश्वकप खेलेको टिम हो । यी दुई बीचको खेल पहिलो पटक हुन लागेको छ ।
सेमिफाइनल यात्राको लय कायमै राख्नका लागि दुवै टिमलाई जित आवश्यक छ ।


टी–२० विश्वकप : सुपर आठका खेल आजदेखि, दक्षिण अफ्रिका र अमेरिका भिड्दै




