दार्चुला । भारतबाट आयात हुने सामानमा भन्सार अनिवार्य गरिएपछि दार्चुला–धारचुला सीमा नाकामा चहलपहल घटेको छ । दार्चुला सदरमुकाम खलंगास्थित पुलघाटमा विगतमा जस्तो किनमेलका झोला बोकेर वारपार गर्ने सर्वसाधारणको भीड देखिन छाडेको हो ।

सरकारले भारतबाट ल्याइने सामानमा भन्सार अनिवार्य गरेपछि सीमावर्ती क्षेत्रमा त्यसको प्रत्यक्ष प्रभाव परेको छ । भन्सारमा कडाइ गरिएसँगै भारततर्फको धारचुला बजारसमेत सुस्ताएको स्थानीय व्यापारीहरू बताउँछन् ।

‘पुल बन्द हुने समयमा मात्र केही भीड देखिन्छ,’ खलंगाका व्यापारी दिनेश निरौलाले भने, ‘पहिलेको जस्तो सामान लिएर आउनेको भीड अहिले देखिँदैन ।’
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने भएपछि स्थानीय उपभोक्ताले स्वदेशी बजारलाई प्राथमिकता दिन थालेका छन् । पछिल्लो समय खलंगा बजारमा नेपाली सामानको कारोबार बढेको व्यापारीहरू बताउँछन् । दैनिक उपभोग्य वस्तु, तरकारी, फलफूल तथा खाद्यान्न खरिदका लागि स्थानीयहरू भारतीय बजारभन्दा खलंगा बजारमै निर्भर हुन थालेका छन् ।

तर, सीमापारि सामान ल्याएर दैनिक गुजारा चलाउँदै आएका सर्वसाधारण भने भन्सार कडाइबाट प्रभावित भएका छन् । महाकाली नगरपालिका–७ की जानकी लोहारले भारतको धारचुला बजारबाट सामान ल्याएर हुने आम्दानी गुमेको बताइन् ।
‘धारचुलाबाट सामान ल्याएर साँझका लागि तेल, चामलको जोहो हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले त्यो रोजीरोटी नै गुमेको छ । व्यापारिक सामानमा भन्सार तिर्नु ठीक भए पनि घरायसी सामानमा समेत कडाइ गर्दा हामीजस्ता दैनिक मजदुरी गरेर खानेहरू समस्यामा परेका छौँ ।’
भन्सारमा गरिएको कडाइसँगै दार्चुलामा राजस्व संकलन भने बढेको छ । भन्सार कार्यालय दार्चुलाका अनुसार अहिले दैनिक औसत २६ हजार रुपैयाँ राजस्व संकलन भइरहेको छ । सरकारले ५ सय रुपैयाँभन्दा माथिको सामान खरिदमा अनिवार्य भन्सार उठाउन निर्देशन दिएपछि भन्सार संकलनमा कडाइ गरिएको हो । केही वस्तुमा भने १ सय रुपैयाँ बराबरको सामान भए पनि भन्सार काट्नुपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।
भन्सार कार्यालय दार्चुलाका सूचना अधिकारी विकास सुनारका अनुसार पछिल्लो समय दैनिक राजस्व संकलनमा वृद्धि भइरहेको छ । चालु आर्थिक वर्षमा १ करोड २० लाख रुपैयाँ राजस्व संकलन हुने लक्ष्य लिइएको उनले बताए ।
गत आर्थिक वर्षमा भन्सार कार्यालय दार्चुलाले १ करोड ५० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । विगतमा व्यापारी तथा सर्वसाधारणले सामान एकमुष्ठ आयात नगरी भरियामार्फत छुट्टाछुट्टै ल्याउने गर्दा भन्सारबाट कम राजस्व संकलन हुने गरेको थियो । अहिले भने भारतबाट आयात हुने सबै प्रकारका सामानमा अनिवार्य भन्सार संकलन भइरहेको कार्यालयले जनाएको छ ।
‘अहिले सबैजना करको दायरामा आएका छन्,’ सूचना अधिकारी सुनारले भने, ‘खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आयात विगतको तुलनामा केही घटेको छ । तर अन्य वस्तुबाट संकलन हुने राजस्व बढेको छ ।’
भन्सारमा कडाइ भएपछि व्यापारीहरू पनि आफैँ भन्सार कार्यालयमा आएर कर तिर्न थालेका छन् । सर्वसाधारणका लागि भने सामान आयातमा अझै सहुलियत दिइरहेको भन्सार कार्यालयले जनाएको छ । अहिले कहिलेकाही साँझतिर भीड देखिन्छ सूचना अधिकारी सुनार भन्छन् । विगतमा जस्तो घरायसी समान ल्याउन जाने मान्छे कमै वारपार गर्छन् । गाउँबाट आएकाहरुले बढि घरायसी समान ल्याउँने गर्छन् ।
भन्सारमा कडाइले सीमावर्ती क्षेत्रमा दैनिक उपभोग्य सामान ओसारपसार गरी जीविकोपार्जन गर्ने सर्वसाधारण र घरायसी प्रयोजनको लागि समान ल्याउन सर्वसाधारण प्रभावित भएका छन् ।











