दार्चुला । दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुल तयार भए पनि सञ्चालनमा आउन सकेको छैन् । पुल निर्माण सम्पन्न भए पनि नेपालतर्फ भन्सार, क्वारेन्टाइन तथा सुरक्षाकर्मीका लागि आवश्यक संरचना निर्माण बाँकी रहदा सञ्चालन हुन नसकेको हो ।
भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा नेपाल–भारत समन्वय समिति बैठकमा निर्माण सम्पन्न पुललाई आवश्यक पूर्वाधार तयार गरी चाडो सञ्चालनमा ल्याउने विषयमा दुवै देशका अधिकारीबीच छलफल भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार पुल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरी बैठकमा भएको सहमतिको जानकारी दुवै पक्षले आ–आफ्नो केन्द्र सरकारलाई गराउने निर्णय भएको छ ।
‘पुल सञ्चालन गर्नुअघि आवश्यक पर्ने पूर्वाधार निर्माण गरी नेपाल–भारत पक्की पुल सञ्चालनमा ल्याउने विषयमा केन्द्र सरकारलाई बैठकमा भएका सहमतिको जानकारी गराउने निर्णय भएको छ,’प्रजिअ पौडेलले भने ।
दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारतको धार्चुला तहसिलअन्तर्गत पर्ने छारछुम जोड्ने ११० मिटर लामो दुई लेनको पक्की पुल निर्माण सम्पन्न भइसकेको छ । पुल निर्माणमा संलग्न भारतीय निर्माण कम्पनीका सबइन्जिनियर हेम पाण्डेका अनुसार पुलको दुवैतर्फ मुख्य सडकसमेत निर्माण भइसकेको छ भने अब साइनबोर्ड राख्ने काम मात्रै बाँकी छ ।
नेपालतर्फ भने पुल सञ्चालनका लागि भन्सार कार्यालय, क्वारेन्टाइन, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि आवश्यक संरचना निर्माण गर्न बाँकी छ ।
प्रजिअ पौडेलका अनुसार भन्सार कार्यालय र सुरक्षाकर्मीका लागि आवश्यक संरचना निर्माण गर्न जग्गा प्राप्तिको काम सम्पन्न भइसकेको छ । भन्सार कार्यालय निर्माणका लागि दार्चुला भन्सार कार्यालयले सम्बन्धित माथिल्लो निकायमा पत्राचारसमेत गरिसकेको छ ।
नेपाल सरकार र भारत सरकारको सहमतिमा निर्माण गरिएको पुल सञ्चालनमा आएपछि दार्चुला र भारतको धार्चुलाबीचको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।

व्यापार र पर्यटनमा टेवा पुग्ने अपेक्षा
पक्की पुल सञ्चालनमा आएपछि दार्चुलाको व्यापार, पर्यटन तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमनमा महत्वपूर्ण सहजता आउने स्थानीयको अपेक्षा छ।
स्थानीयले निर्माण सम्पन्न भइसकेको पुललाई आवश्यक पूर्वाधार पूरा गरी यथाशीघ्र सञ्चालनमा ल्याउन माग गर्दै आएका छन् ।
दार्चुलाका प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले पुल शीघ्र सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको बताए ।
दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेशसिंह थापाले पक्की पुल सञ्चालनमा आए दुई देशबीचको व्यापारिक, पर्यटकीय तथा सांस्कृतिक सम्बन्ध थप मजबुत हुने बताए ।
पुलको शिलान्यास आर्थिक वर्ष २०७९÷८० को असोज ३ गते भएको थियो । पुल निर्माण भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड, पन्जाबले गरेको हो ।

सीमानाका खुल्ने समय पनि बढ्यो
नेपाल–भारत समन्वय समिति बैठकले सीमानाका खुला रहने समयसमेत परिमार्जन गरेको छ । नयाँ सहमतिअनुसार गर्मीयाममा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म र हिउँदमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सीमानाका खुला राखिने भएको छ ।
सीमा क्षेत्रका नागरिकको मागलाई सम्बोधन गर्दै गरिएको समय परिवर्तनले चाडपर्व, धार्मिक तथा सांस्कृतिक कार्यक्रम र विशेष परिस्थितिमा हुने वैध तथा परम्परागत आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।
बैठकले सीमाक्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, लागुऔषध ओसारपसार, मानव बेचबिखनलगायत सीमा अपराध नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा निकायबीच नियमित सूचना आदानप्रदान तथा समन्वयलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ ।












