शैल्यशिखर नगरपालिकाका चार वटा वडाका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । वडा भवन नहुँदा सेवाग्राहीले सहजरुपमा सेवा लिन नसकेको गुनासो गरेका छन् ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ३, वडा नम्बर ५ वडा नम्बर ७ र वडा नम्बर ८ मा वडा भवन अभाव छ । वडा कार्यालयको छुट्टै भवन भइदिएको भए हामी सहज रुपमा वडामा सेवा लिन पुग्थ्यौं, शैल्यशिखर–३ का स्थानीय नविनराम पार्कीले भने, ‘अरुको घरभित्र गएर सेवा लिनुपर्दा हामीलाई समस्या भएको छ ।’
छ वर्षदेखि वडाको भवन बनाउन सकेका छैनन् । जनताले कसरी स्थानीय सरकारको अनूभूति गर्ने उनले भने, ‘हाम्रो एउटै माग छ, जनतालाई सहज हुने गरी वडा भवन निर्माण गरिदिनुहोस् ।’
‘घरमालिक रहेकै भवनमा वडा कार्यालय सञ्चालन गर्नुपर्दा सेवा प्रवाह सोचेअनुरुप भएको छैन्,’ शैल्यशिखर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष पदमबहादुर चन्दले बताए । ‘अघिल्लो सरकारले वडाको लागि पहल गरेन् । वडा भवनमात्रै बनाएको भए पनि नागरिकले सहज सुविधा पाउथे । अहिले वडा कार्यालय भवनको लागि पहल भइरहेको छ’ ।
हाम्रो वडाको घरमालिक एकापट्टी बस्छन्, अर्कोतर्फ कार्यालय छ । अध्यक्ष चन्द भन्छन्, सेवाग्राही आउँदा कतातिर आउने हो भन्ने समस्या छ । वडा कार्यालय बनाउन सकिएको छैन् ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जनक रावल पनि आफ्नै वडा भवन नहुँदा नागरिकले सास्ती खेप्नुपरेको बताउँछन् । यसअघिको सरकारले पाँच वर्ष यस्तै भाडाको भवनमा बसेर चलायो । खुला ठाउँ पनि रोजिएन् । अहिले आफु आइसकेपछि वडा कार्यालय भवनको लागि प्रदेश समपुरक बजेटमा माग गरेको छु । भवनको लागि चाहिने जमिन प्राप्ति हुने क्रममा छ उनले भने ।
शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजयसिह धामी यसअघिको सरकारले केही काम नगरकै कारण अहिलेको सरकारले सबै क्षेत्रको काम हेर्नुपरेको बताउँछन् । उनले भने ‘अघिल्लो पाँच वर्ष अर्केले नेतृत्व गरे । न प्रशासकीय भवन बन्यो, न वडा कार्यालयका काम अघि बढे । अहिले आफु आएपछि प्रशासकीय भवनको काम धेरै अघि बढेको छ ।’ वडा भवनको लागि प्रक्रिया चलेको छ ।








