जीर्ण भवनमुनि विद्यार्थी

दार्चुला । शैल्यशिखर नगरपालिका–७ दोबाटामा रहेको भैरवनाथ आधारभुत विद्यालयको भवन जीर्ण छ । १३ वर्ष अघि निर्माण भएको विद्यालय भवन मर्मत नहुँदा त्यहीँ विद्यालयको भवनमुनि विद्यार्थी जोखिम मोलेर अध्ययन गर्ने गर्छन् ।
कक्षा १ देखि ३ सम्म पढाई हुने विद्यालयमा ३४ जना विद्यार्थी अध्ययनरत छन् । कार्यालय सहयोगीसहित ४ जना शिक्षक कर्मचारी छन् । ‘विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या छ,’ विद्यालयका प्राधानाध्यापक जानकी धामीले सुनाइन् । ‘चर्को घाम र वर्षातमा पानी आउन साथ विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ ।’
भवन मर्मतसम्भारका लागि वडा कार्यालय, नगरपालिका कार्यालयसँग हारगुहार गरिसके विद्यालयका प्रधानाध्यापक जानकीले भनिन् ‘हालसम्म कतैबाट बजेट प्राप्त भएको छैन ।’ डेस्कबेन्च अभावमा विद्यार्थीहरू चटाइ बिछ्याएर भुइँमा बस्न बाध्य छन् । स्कुलको अवस्थाबारे सबैलाई थाहा छ तर कतैबाट बजेट आएको छैन । यो विद्यालयमा शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिकाका बालबालिका पढ्न आउँछन् ।
तीन कक्षासम्म पढाइ भए पनि नेपाल सरकारले बालविकास शिक्षकको एउटा मात्र दरबन्दी दिएको छ । अन्य दुुई जनालाई नगरपालिकाले मासिक आठ हजार रूपैयाँका दरले तलब दिने गरेको छ ।
विद्यालय भवन जीर्ण हुँदा विद्यार्थीलाई विद्यालय पठाउन जोखिम रहेको अभिभावक गणेश खत्रीले बताए । कक्षा कोठामा निकै पुराना डेस्कबेन्च छन् । छानाको जस्तापाता खियाले छोपेको छ । कतै जस्तापाता उक्किन थालेको छ त कतै उक्किएर छानो पूरै बाहिरबाट भित्र देखिने भएको छ, उनले भने । झ्यालढोकामा पल्ला छैन, सबै खुलै छन् । गत वर्ष हुरीले छानाको जस्तापाता उडाइदियो ।
शैल्यशिखर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष पुुष्पराज जोशीका अनुसार विद्यालय भवन मर्मतसम्भारका लागि नगरपालिकाले पहल गरिरहेको बताउँछन् । ‘हामी राम्रो नयाँ भवनका लागि पहल गर्दैछौं । आगामी वर्षको बजेटमा केही व्यवस्था हुन्छ होला । ‘विद्यालयको भौतिक संरचना सुधारका लागि संघ र प्रदेश सरकारसँग समेत बजेट माग गरेका छौ । भवन बनाउने कुरामा हामी आएदेखि पहल भइरहेको छ ।
शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले जीर्ण विद्यालय भवन मर्मतका लागि आवश्यक पहल गर्ने बताए । विद्यालयको कमजोर जीर्ण संरचनाबारे ध्यनाकर्षण भएको छ, उनले भने चाडै पहलकदमी लिन्छौ ।

सम्बन्धित समाचार

ताजा समाचार