दार्चुला । शैल्यशिखर नगरपालिका अन्तर्गत भर्ना भएका नगर शिक्षकले सात महिना देखि तलब पाएका छैनन् । नगरपालिकाले शैक्षिक सुधारको लागि भन्दै भर्ना गरिएका शिक्षकले तलब नपाउँदा समस्यामा परेका हुन् ।
नगरपालिकाले प्राथमिकतह र माध्यमिक तहमा गरी कुल १३६ जना नगर शिक्षक भर्ना गरेका छन् । तर उनीहरुले तलब नपाउँदा समस्या भएको मालिकार्जुन मावि आगरका शिक्षक शेरसिह भण्डारी बताउँछन् ।
उनले भने ‘विद्यालयमा ड्युटी पूरै गर्नुपर्छ, तर तलबकै भरमा रहेका शिक्षकले अहिले सम्म पारश्रमिक पाएका छैनौं ।’ सुरुमा साउन भदौं महिनाको तलब आए पनि त्यस यता अहिले सम्म कसैको तलब आएको छैन् ।तलब नआएपछि बच्चाको भविष्य किन बिगार्ने भनेर नियमित पठनपाठन भने यथावत छ ।
नगरपालिकाले नगर शिक्षकलाई १० हजार देखि २८ हजार रुपैयाँ तलब दिएर नियुक्ति दिएको थियो । शैक्षिक सत्रको अन्तिम समय हुँदा पनि तलब नपाउँदा घर परिवार चलाउनै समस्या भएको नगर शिक्षकहरुको गुनासो छ । तलबको लागि पटकपटक मागगर्दा पनि सुनुवाई भएको छैन् । नयाँ वर्ष आउन थाल्यो । वर्षभरि काम गरेर पनि ऋण तिर्न नसकिने अवस्था आएको शिक्षक भण्डारीको गुनासो छ ।
शैल्यशिखर नगरपालिका शिक्षा शाखाका प्रास बल्देव भट्ट नगरपालिकाको आन्तरिक श्रोतमा कमी आउँदा शिक्षकहरुको तलब जान नसकेको बताए । ‘हामीले पनि शाखाको तर्फबाट तलबको लागि धेरैपटक पत्रचार गरेका छौं,’उनले भने ‘तर नगरपालिकाबाट भुक्तानी भएको छैन् ।’
शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट नगरपालिकासँग बजेट नहुँदा शिक्षकको तलब खुवाउन नसकिएको बताउँछन् । सुरुम दुई महिनाको तलब खुवाएका छौं उनले भने बजेट व्यवस्थापन नहुँदा तलब खुवाउन सकिएको छैन् ।


काम गरे बाफतको श्रम नपाउँदा समस्यामा छन्, शिक्षक




