काठमाण्डाै – नेपाली कांग्रेसका सांसदले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन् ।
आज बिहान प्रतिनिधि सभाको बैठक शुरु हुने बित्तिकै कांग्रेस सांसदले विरोध जनाए । उनीहरूले अनुसन्धानको घेरामा रहेका लामिछानेलाई गृहमन्त्री नियुक्त गरेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेका छन् । त्यसमा सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जनाएपछि संसद् चलेको थियो । शून्य समय र विशेष समयमा सांसदले बोले ।

त्यस्तै कार्यव्यवस्था परामर्श समितिमा हेरफेर र राष्ट्रिय सभाबाट सन्देशसहित आएको विधेयक टेबुल भयो । त्यसपछि गृहमन्त्री लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा प्रवेश गर्दा कांग्रेस सांसदले विरोध जनाए । कांग्रेसको विरोधपछि सभामुखले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभयो ।
त्यसको दुई घण्टापछि शुरु भएको दोस्रो बैठकमा पनि कांग्रेसले नाराबाजी गर्याे । दोस्रो बैठकमा विरोधबीच सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई प्रस्ताव प्रस्तुत गर्न समय दिनुभयो । त्यस लगत्तै कांग्रेस सांसदले रोस्ट्रम घेराउ गरे । उनीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरे । कांग्रेस सांसदले नाराबाजी नरोकपछि सभामुख घिमिरले प्रतिनिधि सभाको बैठक पर्सि आइतवार बिहान ११ बजेसम्मका लागि स्थगीत गर्नुभएको छ ।
रवि लामिछानेलाई गृहमन्त्रीमा नियुक्ति गरेकाले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन प्रभावित हुने कांग्रेसको भनाइ छ ।







