लेकमभरीका ४७ वटै विद्यालयमा स्थलगत अनुगमन, प्रतिवेदनमाथि छलफल गरिने

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले चालु शैक्षिक शत्र २०८० भित्रै विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलन गर्ने उद्धेश्यले लेकम गाउँपालिका भित्र रहेका ४७ वटै सामुदायिक विद्यालयको स्थलगत अनुगमन कार्य सम्पन्न गरेको छ ।

लेकम गाउँपालिकाको शिक्षा कार्यदलले मंसिर १८ गतेबाट सुरु गरेको विद्यालयहरुको स्थलगत अनुगमन मंसिर ३० गते ९हिजो० सम्पन्न गरेको हो । पालिकाभित्रका ४७ वटै सामुदायिक विद्यालयहरुमा पुगेर विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सघं, प्रद्यानाध्यापक, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, शिक्षाप्रेमी लगायत सरोकारवालाहरुसंग छलफल, अन्तरक्रिया तथा अनुगमन गरिएको लेकम गाउँपालिका शिक्षा शाखा प्रमुख केशवराज ओझाले जानकारी दिनुभयो । स्थलगत अनुगमनका क्रममा विद्यालय समायोजन तथा दरबन्दी मिलानको सन्दर्भमा सकारात्मक सुझाबहरु प्राप्त भएको उहाँले बताउनुभयो ।

अभिभावक लगायत सरोकारवालाहरुले विद्यार्थी संख्या मात्रै नभइ भूगोल र समुदायको समस्या तथा आवश्यकतालाई समेत ध्यान दिएर विद्यालय समायोजन कार्य गर्नुपर्ने र शिक्षक दरबन्दी आवश्यकता अनुसार थप गर्नुपर्ने सुझाव दिएका छन् । अधिकासं विद्यालयमा शिक्षक दरबन्दी थप गर्नुपर्ने, भवन, खेलमैदान, सौचालय, खानेपानीसहितका भौतिक पुर्वाधार निर्माण गरिदिनुपर्ने लगायत समस्या समाधान गरिदिन माग आएको विद्यालय अनुगमनमा सहभागि शिक्षा कार्यदल संयोजक एबं लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताउनुभयो । विद्यालयको स्थलगत अनुगमनका क्रममा देखेका र सरोकारवालाहरुबाट आएका सुझाब टिपोट गरि प्रतिवेदन बनाइएको बताइएको छ ।

अनुगमनका क्रममा कार्यदलले तयार पारेको विद्यालयहरुको स्थलगत सुपरीवेक्षण अद्ययन प्रतिवेदन माथि थप छलफल गर्दै माघ मसान्त भित्रै विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्य गरिने लेकम गाउँपालिका शिक्षा शाखाले जनाएको छ । शिक्षा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि शिक्षा समिति र गाउँकार्यपालिकामा समेत आवश्यक छलफल गरिने बताइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार