बैतडीमा किसानलाई उन्नत जातको गहुँको बीउ अनुदानमा वितरण गरिँदै

बैतडी –बैतडीमा विपन्न र दलित समुदायका किसानहरुलाई अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिँदैछ । कृषि ज्ञान केन्द्रले किसानहरुलाई शतप्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले बताए ।

मध्यपहाडी क्षेत्रको लागि उपयुक्त मानिएको डब्लु के १२०४ जातको गहुँको बीउ वितरण भइरहेको कार्यालय प्रमुख चौधरीले बताए । बैतडीजस्ता मध्यपहाडी क्षेत्रहरुमा गहुँमा पहेँलो सिन्दुरे रोगको प्रकोप रहेकाले त्यस्तो रोग प्रतिरोधात्मक क्षमता भएको गहुँको बीउ वितरण गरिएको हो ।

विपन्न र दलित समुदायका किसानहरुका लागि कृषि ज्ञान केन्द्रले ७ क्विन्टल गहुँको बीउ खरीद गरेको छ । किसानहरुको आवश्यकता अनुसार थप बीउ खरीद गर्न सकिने चौधरीले बताए ।

केही दिन अघिमात्रै भूमीमा महिला कृषि सहकारी संस्थाको सहकार्यमा विपन्न तथा दलित समुदायका किसानहरुलाई उन्नत जातको गहुँको बीउ वितरण भएको संस्थाकी अध्यक्ष सरस्वती नेपालीले बताइन् । १२७ जना किसानहरुलाई प्रति किसान ५ केजीका दरले गहुँको बीउ वितरण गरिएको उनले बताइन् ।

गहुँ छर्ने बेला उन्नत जातको रोग प्रतिरोधात्मक क्षमता भएको बीउ प्रयोग गर्नुपर्नेमा कृषि प्राविधिकहरुले जोड दिएका छन् । डब्लु के १२०४ जातको गहुँ १७८ दिनमा पाक्ने गर्दछ भने उत्पादन पनि राम्रो हुने पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए ।

बैतडीका बेँसी क्षेत्रहरुमा गहुँ छर्न बाँकी रहेको छ भने लेकाली क्षेत्रहरुमा भने गहुँ छरिसकिएको छ । बैतडीमा १८ हजार हेक्टर क्षेत्रफल जमीनमा गहुँखेती गरिँदै आएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार