दार्चुला । महालेखा परीक्षकको कार्यालयले दार्चुलामा सरकारी कार्यालय तथा स्थानीय तहको अन्तिम लेखापरीक्षण सुरु गर्ने तयारी गरेको छ। महालेखा परीक्षकको कार्यालयका निर्देशकद्वय संगिता फुयाल र रामबाबु पन्तको नेतृत्वमा आएको टोलीले लेखापरीक्षणकाे तयारी गरेकाे हाे ।

टोलीले जिल्लास्थित संघीय तथा प्रदेश सरकारअन्तर्गतका कार्यालयसँगै नौवटै स्थानीय तहको वार्षिक लेखापरीक्षण गर्ने तयारी गरेको छ। लेखापरीक्षणका क्रममा कार्यालय तथा स्थानीय तहको आर्थिक कारोबार, खर्च व्यवस्थापन, बेरुजु तथा सार्वजनिक स्रोतको उपयोगलगायत विषयको परीक्षण गरिनेछ।

महालेखा परीक्षकको कार्यालयबाट आएको टोलीले लेखापरीक्षणका क्रममा आर्थिक अनियमितता, नियमविपरीत खर्च, बेरुजु वा सार्वजनिक स्रोतको दुरुपयोग भएको जानकारी भए प्रमाणसहित उपलब्ध गराउन सम्बन्धित पक्ष तथा सरोकारवालालाई आग्रह गरेको छ।

दार्चुलामा २८ संघीय कार्यालय, ११ प्रदेशअन्तर्गतका कार्यालय र नौवटा स्थानीय तह गरी ४८ सरकारी कार्यालय तथा निकायको अन्तिम लेखापरीक्षण गरिने बताइएको छ।











