दार्चुला । भारतसँग सीमा जोडिएको लेकमको लालीदेखि व्याँस गाउँपालिका–१ को छाङ्गरुसम्म सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको छ । सीमा क्षेत्रमा हुने तस्करी, सीमा अपराध तथा अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण हेडक्वाटर दार्चुलाका अनुसार हाल जिल्लाको लाली, दत्तु, सुनसेरा, दुम्लीङ र तिंकरमा बोर्डर आउट पोष्ट (बीओपी) सञ्चालनमा छन् । यस्तै मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा सीमा सुरक्षा गुल्म, व्याँस गाउँपालिका–१ छाङ्गरुमा सशस्त्र प्रहरी बल नेपाल नं. ५० गुल्म तथा शैल्यशिखर नगरपालिका–१ बलाँचमा जलविद्युत् आयोजनाको सुरक्षाका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सदरमुकाम खलंगादेखि छाङ्गरुसम्म करिब ८५ किलोमिटर तथा कालापानीसम्म झण्डै १०० किलोमिटर दूरी रहेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गणका गणपति गुणराज न्यौपानेले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा जलविद्युत् आयोजनाको सुरक्षालाई प्राथमिकतामा राखेर जनशक्ति परिचालन गरिएको बताए । ‘राज्यले दिएको जिम्मेवारी अनुसार सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी निरन्तर खटिएको छ,’ उनले भने ।

सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिग्विजयी सुवेदीले सीमा सुरक्षा अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण हेडक्वाटर दार्चुलाको छैठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा भन्सार छली रोकथाममा सशस्त्र प्रहरीले अझ जिम्मेवार र सक्रिय भएर काम गर्नुपर्ने बताए । लागूऔषध कारोबार नियन्त्रणमा प्रहरीसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।
‘राज्यले दिएको जिम्मेवारी पूरा गर्नु हाम्रो दायित्व हो । दार्चुला संवेदनशील सीमा जिल्ला भएकाले यहाँ कार्यरत सुरक्षाकर्मी अझ बढी सतर्क र जिम्मेवार हुनुपर्छ,’ डीआईजी सुवेदीले भने । सशस्त्र प्रहरीसँग अहिले पनि विपद् उद्धारका सामाग्रि अभाव रहेको भन्दै स्थानीय तहको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
वार्षिकोत्सवका अवसरमा सशस्त्र प्रहरीले विभिन्न खेलकुद तथा अन्य प्रतियोगिताका विजेता र सहभागीलाई प्रमाणपत्र वितरण गर्नुका साथै सांस्कृतिक प्रस्तुति राखेको थियो ।














