दार्चुला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

दार्चुला । दार्चुलालाई दशौँ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आइतबार जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका सबै ९ वटा स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएपछि समग्र जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू (कश्यप) ले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।


स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बीरेन्द्र भट्टका अनुसार जिल्लाभरका १६ देखि २३ महिनासम्मका १ हजार ३२३ जना बालबालिकाले सबै आवश्यक खोप प्राप्त गरेका छन् । त्यस्तै, २४ देखि ५९ महिनासम्मका ५ हजार १८९ जना बालबालिकाले पनि पूर्ण खोप प्राप्त गरेका छन् । पूर्ण खोप अभियानअन्तर्गत गरिएको सर्वेक्षणका क्रममा छुटेका ६ जना बालबालिकालाई समेत खोप लगाएपछि जिल्ला घोषणा गरिएको उनले जानकारी दिए ।


घोषणा कार्यक्रममा बोल्दै जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख महादेव बडूले खोज र खोप अभियानमार्फत पूर्ण खोप सुनिश्चितता अभियान सफल भएको बताए । उनले अभियानमा सक्रिय रूपमा योगदान पु¥याउने महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य कार्यालय तथा अन्य सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले पूर्ण खोप सुनिश्चितता हासिल गर्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसको दिगोपनालाई अझ प्रभावकारी रूपमा कायम राख्न सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रमका अवसरमा पूर्ण खोप अभियानमा उल्लेखनीय योगदान पु¥याउने स्थानीय तहका स्वास्थ्य संयोजकहरूलाई जिल्ला खोप समन्वय समितिले सम्मान–पत्र प्रदान गरेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार