दार्चुलामा सकियो रेबिजविरुद्धको खोप, सेवा बन्द

दार्चुला । दार्चुलामा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् । जिल्ला अस्पताल दार्चुलाले खोप अभाव भएपछि सेवा बन्द भएको जनाएको छ ।
कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप अस्पतालमा उपलब्ध नभएपछि उपचारका लागि पुगेका सेवाग्राही समस्यामा परेका छन् ।
जिल्ला अस्पताल दार्चुलाका निमित्ति मेडिकल सुपरिटेन्डेन डा. रबिन्द्र भट्टराइले अस्पतालबाट निशुल्क रुपमा लगाउँदै आएको रेबिज विरुद्धको खोप हाल अस्पतालमा आपूर्ति नभएको हुँदा सेवा बन्द गरिएको बताए । रेविज विरुद्धको खोप आपूर्ति हुने ठाउँमा समेत नभएकोले हाललाई यो सेवा बन्द हुने व्यवहोरा अनुरोध छ, जिल्ला अस्पताल दार्चुलाले जारी गरेको सूचनामा भनिएको छ ।
जेठदेखि प्रदेश आपूर्ति केन्द्रबाट खोप नआएपछि अस्पतालले सेवा दिन नसकेको जनाएको छ । रेविज विरुद्धको खोप आउन साथ पुन सेवा सुचारु गर्ने गरी अहिलेलाई सेवाग्राहीलाई अस्पताल नआउने पत्रमा भनिएको छ ।


धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सुदूरपश्चिममा मात्रै नभई नेपालभर खोप उपलब्ध हुन नसकेको जनाएको छ । आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य अधिकृत महेश भण्डारीले प्रदेशका सबै अस्पतालहरूमा रेबिजविरुद्धको खोप उपलब्ध हुन नसकेको बताए ।
“सुदूरपश्चिममा मात्रै नभई अहिले मुलुकभर रेबिजविरुद्धको खोप अभाव छ,” उनले भने, “कहिलेसम्म आपूर्ति हुन्छ भन्ने यकिन भइसकेको छैन ।” प्रदेश आपूति केन्द्रबाट सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली प्रादेशिक अस्पताल र ९ वटै जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्यचौकीमा खोप उपलब्ध गराउँदै आएको छ ।
प्रदेशका विभिन्न अस्पतालमा खोप अभावका कारण कतिपय बिरामीलाई निजी स्वास्थ्य संस्थामा महङ्गो शुल्क तिरेर खोप लगाउन बाध्य हुनुपरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार