काठमाण्डौ – प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले जितेको छ । पोखरा रङ्गशालामा रहेको बहुउद्देश्यीय कर्भड हलमा आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो ।

आजै तेश्रो स्थानका लागि भएको खेलमा न्यु डायमण्ड स्पोर्टस क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको छ । राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगिताको विजेता एपीएफले ६ लाख रुपैयाँ, उपविजेता पुलिसले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् भने तेस्रो भएको न्यु डायमण्डले एक लाख रुपैयाँ प्राप्त गरेको छ ।

सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
