लेकम गाउँपालिकामा वडामै पुगेर ८८३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण

लेकम गाउँपालिकले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । चालू आर्थिक वर्षको तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता पाँच ओटा वडामा पुगेर वितरण गरेको हो ।
वडामा शिविरको आयोजना गरि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी तथा बैंकमा स्वस्फूर्त रूपमा जान नसक्ने लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको एमआईएस अपरेटर प्रकाशराज विष्टले बताए ।
विष्टका अनुसार, शिविर वडा नम्बर ३ लालीबाट गत आइतबारबाट सुरु भई वडा नम्बर ६ उचाकोटमा शिविर सम्पन्न भएको हो । शिविरमा ४९१ महिला र ३९२ पुरुष गरी ८८३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
जसअनुसार वडा नम्बर १ सर्मौलीमा १०१ महिला ७७ पुरुष गरी १७८ जना, वडा नम्बर २ को कुणीमा १२८ महिला र १११ पुरुष गरी २३९ जना, वडा नम्बर ३ को लालीमा ७९ महिला र २९ पुरुष गरी १०८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण भएको गाउँपालिका प्रवक्ता सुरेशसिह थापाले बताए ।
यसैगरी वडा नम्बर ४ को खरकडामा ९८ महिला र ८१ पुरुष गरी १७९ जना, वडा नम्बर ६ मा ८५ महिला र ६४ पुरुष गरी १४९ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
गाउँपालिकाले लक्ष्मी सनराइज बैंकको सहकार्यमा हरेक चौमासिकमा वडातहमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको प्रवक्ता थापाको भनाई छ । बैंक वडा नम्बर ५ मै भएको हुँदा सो वडाका लाभग्राहीले भने बैंकमै सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेका छन् ।
दुर्गम क्षेत्रका नागरिकलाई बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन सास्ती हुने भएपछि वडातहमै शिविर सञ्चालन गरेर हरेक वर्ष वडातहमै पुगेर भत्ता वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताए ।
स्थानीय तहका जनप्रतिनिधिले बैंकसम्म आउन नसक्नेलाई वडातहमै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि सेवाग्राही पनि खुसी छन् ।

सम्बन्धित समाचार

ताजा समाचार