शैल्यशिखर नगरपालिकाको सार्वजनिक सुनुवाइ, नगर प्रमुख धामी भन्छन्, ‘भएको कामको प्रचार भएन आलोचना मात्रै’

शैल्यशिखर नगरपालिकाको चालू आर्थिक वर्ष ०८१।०८२ को प्रथम र दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम बिहिबार गोकुलेश्वरमा सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा एकपाइलो मल्टिमिडिया प्रालिको सहजीकरणमा सार्वजनिक सुनवाइ भएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर प्रमुख विजयसिह धामी र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट जवाफदेहिवक्ता रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख विजयसिह धामीले अघिल्लो सरकारले भन्दा अहिलेको सरकारले भौतिक पूर्वाधार र सार्वजनिक सेवा प्रवाहमा राम्रो काम गरेको दाबी गरे । उनले भने, ‘हामीले थुप्रै काम गरेका छौं, तर गरेका कामहरु प्रचारमा आउन सकेनन् ।’
‘भौतिक पूर्वाधार निर्माणका कामहरु हामीले जति कसैले गरेका छैनन्, यो मेरो दाबी हो,’ उनले भने, ‘तर हामीले गरेका कामहरु मिडियामा, सामाजिक सञ्जालमा आउँदैनन् ।’ हाम्रा जनप्रतिनिधि, कर्मचारीले पनि प्रचार गर्न सक्दैनन् । मिडियाको पहुँच यो ठाउँमा हुन सकेन् । कम्तीमा हामीले राम्रा गरेका कामहरु पनि बाहिर ल्याउनुप¥यो, उनले भने ।
शैल्यशिखर नगरपालिका स्वमूल्यांकनमा निरन्तर दुई वर्ष जिल्लामै प्रथम भएको छ । यो हामीले गरेको कामका आधारमा आएको सूचकाङ्क हो । शिक्षा क्षेत्रमा विद्यालय भवन, विद्यार्थी अनुपातमा शिक्षक व्यवस्थापन गरिएको छ । स्वास्थ्य क्षेत्रमा लगानी गरिएका छन् ।


अहिलेको बजेटले जे जतिगर्न सकिन्छ, त्यो काम हामीले गरिरहेका छौ । वडा जोड्ने गरी सडक निर्माण धमाधम भइरहेका छन् । भवन निर्माण देखि हाल्नु भयो, अन्तिम चरणमा पुगेका छन् ।
धेरै लामो समयदेखि हुन नसकेको फोहोर व्यवस्थापनको लागि डम्पिङ साइड निर्माण प्रकृया अघि बढाउने तयारी छ । बजेट आएको छ । जमिन विवाद मिल्यो भने फोहोर व्यवस्थापन गरिन्छ । जनतालाई राहत हुने कुरामा आफ्नो टिम एकताबद्ध भएर अघि बढ्ने उनको भनाई छ ।
शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट जनप्रतिनिधि र कर्मचारीले सँगैसँगै अघि बढेर काम गरिरहेको बताउँछन् । जनप्रतिनिधिको भिजन लिएर आएका छन् । ती भिजन पूरा हुने गरी हामी एकसाथ काम गर्दैछौ । विगतमा केहि कमजोरी रहेको भए पनि अहिले नगरपालिकाले सुधारका संकेत देखिएको उनले बताए ।
शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पताल व्यवस्थापन, फोहोरमैला व्यवस्थापन र प्रहरी बिट बनाउने विषयमा छिट्टै निर्णयमा पुगिने समेत उनले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार