शिक्षक आन्दोलनले दार्चुलामा पनि विद्यार्थी भर्ना अभियान प्रभावित

दार्चुला । आजदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान दार्चुलामा समेत प्रभावित भएको छ । शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण मंगलबारदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान प्रभावित भएको हो ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि शिक्षक कर्मचारी काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् । काठमाडौँ नआएका शिक्षकहरू समेत विद्यार्थी भर्ना अभियान लगायत कुनै पनि गतिविधिमा संलग्न नहुन चेतावनी दिइरहेका छन् ।
नेपाल शिक्षक महासंघले विद्यालय खोल्ने र विद्यार्थी भर्ना अभियानमा संलग्न हुने शिक्षक तथा विद्यालयमाथि निगरानी राखेको छ । त्यसैको कारण जिल्लास्थित विभिन्न विद्यालयहरुले सूचना जारीगर्दै अभियान स्थगन गरेका हुन् ।
वैशाख २ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान तथा वैशाख ५ गते पाठ्यपुस्तक वितरण गर्ने कार्यतालिका छ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै १४ दिनदेखि काठमाण्डौमा आमहडताल र आन्दोलनमा उत्रिएको छ ।
दार्चुला सदरमुकाम खलंगास्थित महेन्द्र माध्यमिक विद्यालय खलंगा, मालिकार्जुन माध्यमिक विद्यालय धाप, लेकमको लटिनाथ माध्यमिक विद्यालय चौपाता, शैल्यशिखरको पशुपती भवन माध्यमिक विद्यालय ग्वानी, अपिहिमाल गाउँपालिकाको डाडाबाग आधारभूत विद्यालय लगायतका विद्यालयले भर्ना अभियान तथा सम्पूर्ण शैक्षिक कार्यक्रम स्थगित गरेका छन् ।
महेन्द्र मावि खलंगाका प्रधानाध्यापक दामोदर जोशीले शिक्षक महासंघ, शिक्षक कर्मचारी आन्दोलनका कारणले गर्दा सिर्जना गरेको शैक्षिक हड्तालका कारण अर्को सूचना नभएसम्मको लागि सबै कार्यक्रम स्थगित गरिएको जनाए । उनले भने, ‘यो अहिलेको विशम परिस्थिति हो । निर्णयक आन्दोलनका उत्रिएका शिक्षक कर्मचारीलाई हौसला दिन ऐक्यबद्धता जनाएका छौं ।’
महासंघको आन्दोलनलाई अन्तिम र निर्णायक बनाउने उद्देश्य अनुरुप सामुदायिक विद्यालयहरुले ऐक्यबद्धता जनाइरहेका छन । महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक चरणमा पु¥याउन भन्दै उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार तथा शैक्षिक भ्रमणजस्ता कुनै पनि शैक्षिक गतिविधि नगर्न पत्रचार गरेको थियो ।
महासंघको निर्णयलाई समर्थन गर्दै आन्दोलनमा ऐक्वद्धता स्वरुप विद्यार्थी भर्ना अभियान तथा शैक्षिक कार्यक्रम स्थगित गरिएको मालिकार्जुन माध्यमिक विद्यालय धापका प्रध्यानाध्यापक सुन्दरसिंह बुढाथोकीले जानकारी दिए । अहिलेकै परिस्थति रहे कक्षा ११ र १२ को परीक्षा समेत प्रभावित हुन सक्छ ।
सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयलाई परिपत्र गरेको छ । अहिलेकै परिस्थितिले दार्चुलामामा वैशाख ५ गने हुने पाठ्यपुस्तक वितरण कार्यक्रम प्रभावित हुने देखिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्तले बताए । ‘भर्ना अभियान निरन्तर चल्छ,’ उनले भने, ‘तर पाठ्यपुस्तक वितरण कार्यक्रम प्रभावित हुने देखिन्छ ।’ जिल्लाको लागि २३ हजार थान बढि पाठ्यपुस्तक आइसकेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार