दार्चुलामा आप्रवासी स्रोत केन्द्रको उद्घाटन गरिएको छ । जिल्ला प्रशासन कार्यालयभित्र रहेको स्रोत केन्द्रको आज एक कार्यक्रमकाबीच सुदूरपश्चिमकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्दघाटन गरेकी हुन् ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को सहयोगमा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो ।
सुरक्षित वैदेशिक रोजगारीका लागि जानकारी दिने, वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने कागजपत्रको बारेमा जानकारी दिने, परामर्श दिने, सहजीकरण गर्ने लगायतका काम गर्नका लागि आप्रवासी स्रोत केन्द्रको स्थापना गरिएको सामी परियोजनाका प्रदेश कार्यक्रम अधिकृत पञ्चराम चौधरीले जानकारी दिए ।
स्रोत केन्द्रमा वैदेशिक रोजगारीमा जानेहरूलाई मनोपरामर्शका लागि एकजना दक्ष कर्मचारीको व्यवस्था गरिएको उनले बताए । वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने कुराहरू, त्यहाँ आइपर्न सक्ने कठिनाइ, अपनाउनुपर्ने सुरक्षा र वैदेशिक रोजगारीमा कुनै अप्ठ्यारो आएमा के गर्ने भन्ने विषयमा केन्द्रले परामर्श दिनेछ ।
केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि सूचना र परामर्श सेवा उपलब्ध गराउनुका साथै वैदेशिक रोजगारीमा भइरहेको ठगी कम गराउने र ठगीमा परेकालाई क्षतिपूर्ति उपलब्ध गराउन, मृत्यु वा अंगभंग भएका कामदारको हकमा वैदेशिक रोजगार बोर्ड, सम्बन्धित निकायबाट प्रदान गर्ने आर्थिक सहायताका लागि सिफारिस उपलब्ध गराउने छ ।
स्रोत केन्द्रको उद्दघाटन गर्दै राज्य मन्त्री खड्काले स्रोत केन्द्रले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् । वैदेशिक रोजगारीका बिषयमा जानकारी नहुँदा कतिपय नागरिक ठगिएको भन्दै उनले स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीमा सहयोग पुग्ने बताइन्।