दार्चुलामा नवजात शिशु मृत्युदरमा कमी आउन सकिरहेका छैन् । स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार शिशु मृत्युदर घट्दै जानुपर्नेमा थप हुँदै गएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बीरेन्द्र भट्टका अनुसार जिल्लामा नवजात शिशु मृत्युदर ०७८।०७९ मा २६ जना, रहेकोमा ०७९।०८० मा यो संख्या घटेर १६ पुगेको थियो । तर गत आर्थिक वर्ष ०८०।०८१ मा संख्या बढेर १८ पुगेको छ, भने चालू आर्थिकको अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ ।
दिगो विकासअनुरूप अनुसार सन् २०३० सम्म नेपालले नवजात शिश मृत्युदरलाई घटाउँदै लैजानुपर्ने छ । तर अघिल्लो वर्षको भन्दा नवजात शिशु मृत्युदर दार्चुलामा बढेको तथ्याङ्कले देखाउछ । मृत्युदर घटाउने प्रयास स्वरुप भने निरन्तर कार्यक्रम भइरहेको भट्टले बताए ।
नवजात शिशु मृत्युदर धनी वर्गका परिवारको तुलनामा न्यून आर्थिक अवस्था भएकाहरूमा लगभग बढि छ । कलिला आमामा यो दर उच्च रहेको उहाँले बताउनुभयो । चेतनाको कमी, जन्मदाको समयमा औसतभन्दा सानो वा ठूलो तौल, सुत्केरी गराइने स्थान, रक्तअल्पताजस्ता कारण नवजात शिशुको मृत्यु हुने गरेको छ ।
अझै पनि गाउँघरमा धामीझाँक्रीकै भर परेर सुत्केरी र नवजात शिशुले ज्यान गुमाइरहेका छन् । पोसिलो खानपान, न्यायो लुगा र ओछ्यान नपाउँदा सुत्केरी÷नवजात शिशुको स्वास्थ्य बिग्रिने गरेको पाइन्छ । उकु स्वास्थ्य चौकीका सिनियर अनमी लीला महरा गाउँमा अझै पनि अन्धविश्वास कायमै रहेको कारण पनि यो समस्या जटिल रहेको बताउँछिन् ।
यो क्षेत्रमा दलित समुदायको बसोबास उच्च छ । नियमित चेकजाँच गर्नुपर्छ, पोषणयुक्त खाना खानुपर्छ र स्याँहार गर्नुपर्छ भन्ने ज्ञानको कमी अझै छ । आफ्नो स्वास्थ्य भन्दा पनि कामको बोझ बढि भएका कारण नियमित चेकजाँचमा कमीले शिशुको अकालमै ज्यान जाने, कतिबेला महिलाको स्वास्थ्य जोखिममा पर्ने गरेको उनको भनाई छ ।
यस्तै जिल्लामा मातृ मृत्युदर भने गत वर्ष शुन्य छ । ०७८।०७९ र ०७९।०८० मा भने एक÷एक जना मातृ मृत्युदर जिल्लामा भएको थियो ।

दार्चुलामा घटेन नवजात शिशु मृत्युदर

