दार्चुलाको दुहुँ–५ मा कांग्रेसका कुँवर विजयी

दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडा अध्यक्षको लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका ५४ वर्षीय धनबहादुर कुँवर विजयी भएका छन् । नेकपा एमालेका ५१ वर्षीय मानसिह बडाललाई १८ मतले पराजीत गर्दै काग्रेसका कुँवर विजयी भएका हुन् ।
वडा अध्यक्षमा कांग्रेसका कुँवरले ३७६ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बडालले ३५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए ।
यस्तै नेकपा (माओवादी केन्द्र) का ५२ वर्षीय वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार ३१ वर्षीय लालसिंह कुँवरले २५ मत प्राप्त गरेका छन् । निर्वाचनमा २० मत बदर भएको छ ।
उपनिर्वाचनमा कूल एक हजार दुई सय ७२ मतदातामध्ये आठ सय ७७ अर्थात (६९.९४ प्रतिशत) मत खसेको थियो ।
दुर्गा आधारभूत विद्यालय गरमोराको (क) र (ख) मतदान केन्द्रमा मतदान भएको थियो । निर्वाचनमा पुरुषभन्दा महिला मतदाता सहभागिता बढि रह्यो । ६२३ महिला र ६४९ पुरुष मतदाता रहेकोमा निर्वाचनमा ४०१ पुरुष र ४७६ महिलाले मतदान गरेका छन् ।
विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार