दुहुँ गाउँपालिका–५ मा उपनिर्वाचन : त्रिपक्षीय भिडन्त

दुहुँ गाउँपालिका–५ मा हुने वडा अध्यक्षको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ । तीनवटै पार्टीका नेताहरुले यो चुनावलाई चासोका साथ हेरेका छन् । एकमात्रै वडामा चुनाव हुन लागेकाले नेताहरुको ध्यान वडा अध्यक्ष चुनावमा लागेको छ ।
यो वडामा एमाले र माओवादीका उम्मेदवार एउटै बस्तीबाट हुँदा काग्रेँस उम्मेदवारलाई लाभ हुने विश्लेषण गरिएको छ । राजनीतिक दलहरूले स्थानीय तह उपनिर्वाचनलाई आफ्नो मध्यावधि जनमत परीक्षणका रूपमा समेत लिएका छन् ।
गत ०७९ को निर्वाचनमा दुहुँ गाउँपालिकाको वडा नम्बर १ र २ मा नेपाली काग्रेँसका उम्मेदवार विजयी भएका छन् । यस्तै वडा नम्बर ३ र ४ मा नेकपा एमाले तथा वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्र विजयी भएको थियो ।
पालिका अध्यक्षमा नेकपा एमालेका नरेन्द्र बहादुर सिह बडाल र उपाध्यक्षमा नेपाली काग्रेसका शान्ति बम निर्वाचित भएका थिए । स्थानीय तहको ५ वर्षे कार्यकालको आधा अवधि पूरा भएको बेला हुन लागेको निर्वाचनलाई राजनीतिक दलहरुले प्रतिष्ठा बनाएका छन् ।
०७४ को निर्वाचनमा नेपाली काग्रेँसले क्लिन स्वीप गरेको दुहुँ गाउँपालिकामा अहिले कार्यपालिकामा भने एमालेको एकल बहुमत छ । उपनिर्वाचनको नतिजाले आगामी निर्वाचनसम्मलाई प्रभाव पार्न सक्ने रहेकाले वडा तहको चुनावमा पनि दलहरू शक्ति केन्द्रित गरेर सक्रियतापूर्वक होमिएका छन् ।
एक मात्र ठाउँमा निर्वाचन भएको कारण पनि दलहरुका शिर्ष नेताहरु दुहुँ पुगेर मतदाता रिझाउनमा व्यस्त छन् । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउँद बुधबार दुहुँ पुगेर मत मागेका छन् । चुनावी सभालाई सम्बोधन गर्दै साउँदले यो क्षेत्रको विकासको लागि काग्रँेस उम्मेदवार जिताउन अपिल गरे ।
यसअघि यो क्षेत्रमा नेपाली कागँ्रेसका केन्द्रीय सदस्य जावेदा खातुन जागाले चुनावी सभाको सुरुवात गरेकी थिइन् । यस्तै दार्चुलाबाट प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू पटकपटक दुहुँ पुगेका छन् । एक सय दिने अभियान अन्तर्गत काग्रेँसका अधिकांश नेता दुहुँमा खटिएका छन् ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्नाले केहि दिन अघि मात्रै दुहुँको चुनावी सभालाई सम्बोधन गरि काठमाण्डौं फर्किएका छन् । भने केन्द्रीय सदस्य हरदेव जोशीले पछिल्लो समय दुहुँको चुनावी कमान्ड सम्हालेका थिए ।
नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य लक्ष्मण दत्त जोशी, प्रदेश सभाका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य मानबहादुर धामी लगायतका माओवादीको नेतृत्व दुहुँमा खटिएको थियो । तीन दलका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरुले दुहुँको निर्वाचनलाई चासोका साथ लिएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार