मालिकार्जुन गाउँपालिकामा अब अनलाइनबाटै विशेषज्ञ स्वास्थ्य सेवा

मालिकार्जुन गाउँपालिकाकाे उकु स्वास्थ्य चौकीमा अनलाइन विशेषज्ञ डाक्टरसहितको सेवा सुरु गरिएको छ । स्मार्ट हेल्थ ग्लोबल संस्थासँग सहकार्य गरेर गाउँपालिकाले उकु स्वास्थ्य चौकीबाट अनलाइन विशेषज्ञ सेवा सुरु गरेको हाे ।

अनलाइनमार्फत विशेषज्ञ डाक्टरसँग साक्षात्कार गरेर ओपीडी र इमर्जेन्सी सेवाप्रदान गर्ने गरिएको मालिकार्जुन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिह खत्रीले जानकारी दिए ।

विरामीले प्रत्यक्ष विशेषज्ञ डाक्टरसँग कुराकानी गरेर परामर्श लिनुका साथै स्वास्थ्य चेकजाँच गराउन सक्ने भएकाले पालिकाले पहिलो पटक अनलाइन विशेषज्ञ डाक्टर सहितको सेवा दिएकाे हाे ।
उकु क्षेत्रका स्थानीयहरु विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवाको पहुँचमा नपुगेका कारण पालिकाले चालू आर्थिक वर्षमा स्मार्ट हेल्थ ग्लोबल संस्थासँग सम्झौता गरेर अनलाइन विशेषक्ष डाक्टर सहितको सेवा सुरु गरेको छ । गाउँपालिकाले स्मार्ट हेल्थ ग्लोबल संस्थालाई बार्षिक ३ लाख रुपैयाँ दिनेगरी सम्झौता गरेको छ ।

स्वास्थ्य चौकीमा अनलाइन विशेषक्ष डाक्टर सहितको सेवा सुरु हुनुभन्दा पहिले त्यहाँका स्थानीयहरुले उपचारका लागि जिल्ला अस्पताल, शंकरपुर स्वास्थ्य चौकी हुदै भारतको पिथौरागढ जानुपर्ने बाध्यता थियाे ।
विशेषज्ञ डाक्टर सहितको सेवा सुरु भएपछि विरामीहरुलाई उपचारकै लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा लिएको उकु स्वास्थ्य चौकीका प्रमुख दिनेशप्रसाद जोशीले बताए ।

उकु स्वास्थ्य चौकी भौगोलिक रुपमा दुर्गम भए पनि त्यहाँ इन्टरनेट सेवा राम्रो चल्ने भएकाले पालिकाले यो सेवा उकु स्वास्थ्य चौकीबाट संञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । अगामी वर्षहरुमा पालिकाका अन्य वडाका स्वास्थ्य चौकीबाट यो सेवा संञ्चालन हुने स्वास्थ्य शाखा संयोजक खत्री बताउँछन् ।
बालबालिका, गर्भवती महिला तथा वृद्धवृद्धा अनलाइनमार्फत विशेषज्ञ डाक्टरसँग कुरा गरेर सेवा पाउने छन् ।
विशेष गरेर सिकिस्त बिरामी, बालबालिका तथा गर्भवती महिलालाई विशेषज्ञ डाक्टरसँग अनलाइनमार्फत जोड्ने तयारी भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार