दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रहरी प्रमुख भएर डिएसपी शिवबहादुर सिंह दार्चुला पुग्दा पत्रकार सँगको भेटघाटमा भनेका थिए, ‘मेरो पहिलो भेटघाट पत्रकार सँग नै हुन्छ र अन्तिम भेट पनि पत्रकार सँगै गर्छु ।’
हो यस्तै एक वर्षको अवधि पुग्नै लाग्दा डिएसपी शिव बहादुर सिंहले आफुले भनेका र गरेका काम तथा आफुमाथि भएका गुनासा, सुझाव सुन्न जिल्लाभरिका पत्रकार डाके । शुक्रबार दिउँसो ‘गुड फ्राइडे’ पारेर बोलाइएको पत्रकार भेटघाटमा डिएसपी सिंहले दोहो¥याए । लामो समय भयो भेट नभएको । मैले सुरुमा भनेको जस्तै अन्तिम र फस्ट भेट पत्रकारसँग नै हुन्छ ।
खासमा त्यो भेटघाट अनौपचारिक थियो । प्रहरीको अपेक्षा थियो, वर्षभरि गरेका कामप्रति पत्रकारको बुझाइ कस्तो रह्यो ? आमजनमानसमा धारणा कस्तो छ । कुराको सुरुवातमै डिएसपी सिंहले भने । आज म जम्मै पत्रकारहरुको कुरो सुन्छु । यो औपचारिक कार्यक्रम केही होइन् ।
सबैको आ–आफ्नो काम गर्ने तवरतरिका हुन्छ, त्यस्तै मेरो पनि छ र सोहीअनुसार काम गरियो । अब प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको जाने बेला हुँदैछ । मेरो पनि बसाई थोरै नै छ । यहाँहरुसँग नजिक भएर घुलमिल हुन सकिएन, यहाँबाट गएपछि सबैको नजिक हुन्छु । यो मेरो काम गर्ने शैली हो ।
जिल्लामा बस्दा म प्राय कुनै राजनीतिक दल, पब्लिक, पत्रकार कसैसँग पनि आत्मिय भएको छैन् । मेरो स्वभाव यस्तै छ । तर जिल्ला छोडेपछि हरेकको सम्पर्क नम्बर हुन्छ । यहाँहरुले बोलायो भने जहाँ पनि आउँछु । जिल्लामा बस्दा भन्दा पनि गइसकेपछि हाम्रो आत्मियता बढ्छ, यसमा ढुक्क हुनुहोस् ।
त्यसपछि पालो आयो पत्रकारको ः चाडपर्व नजिक आइसक्यो । सुरक्षा योजना अनुसार अघि बढ्दा सहज हुन्छ । यो एक वर्षे कार्यकाल सवारी दुर्घट्ना न्यूनीकरणमा यहाँको सफलता रह्यो । जिल्लाको सबैभन्दा ठूला जात्रा लाग्ने लेकमको चौपाता र मालिकार्जुन जात्रा सबैभन्दा शान्तिपूर्ण तवरले सम्पन्न गर्नमा यहाँको भूमिका जिल्लाबासीले सम्झिनेछन् ।
तर प्रश्न पनि उठ्यो ? सुरुमा जिल्ला पुग्दा प्रहरीको जुनप्रकारको एक्सन थियो, काम गराइ थियो त्यो पनि ह्वात्तै घट्यो नि ? शान्ति सुरक्षाको हिसाबले अपराधिक घट्नाहरु, सामाजिक अपराधका घट्नाहरु यहि वरपर बढ्दै गयो । प्रहरी चुक्दै गएको आभास आममानिसले गरेका छन् ।
सवारी साधनमा अत्यधिक चाप बढ्यो । यात्रुहरु जीपहरुमा ठेलमठेल हाल्न थाले । यो चाहि चिन्ताको विषय छ । ठूलो दुर्घटना नहोला भन्न सकिन्न । समयमै सचेत हुने र ट्राफिक नियममा कडाई गर्नुपर्छ ।
‘डोर टु डोर’ प्रहरीको अभियानले राम्रो गति लिइरहेको बेला यो पनि कम हुँदै गयो । जसले अहिले अपराधिक रुपमा घट्ना बढेका पो हुन कि । समग्रमा पत्रकारको प्रश्न थियो, पछिल्लो समय डिएसपी साप किन निराश छन् । प्रहरी परिचालन कमजोर भएको हो कि ? लगायत यावत प्रश्न थिए ।
डिएसपी सिंहले भने, मैले नबोल्ने नै भनेको थिए, तर यहाँहरुबाट प्रश्न आइसकेपछि बोल्नै पर्ने भयो । अब केहि कुरा राख्छु ः प्रहरी कमजोर भएको अथवा कम परिचालन भएको भन्नेमा कुनै सत्यता छैन । बरु सँगै जाउँ प्रहरी विगतको भन्दाबढि सक्रिय भएर परिचालित छ । सदरमुकाम खलंगामै आठ ठाउँबाट क्रस हुँदै प्रहरी ड्युटी छ । विगतमा राति नबस्ने ठाउँमा समेत प्रहरीले निरन्तर ड्युटी गरिरहेको छ ।
अपराधको तथ्यांक हेर्ने हो भने विगतको जस्तो घटेकै छैन् । समग्र तथ्यांक राखौंला । ‘डोर टु डोर प्रहरी’ अभियान दुई महिनादेखि नभएकै हो । यहाँ अधिकारकर्मी लगायत विभिन्न व्यक्तिबाट अब मानिस सचेत भए, अब परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्य अनुरुप अहिले अगाडि बढेको छैन् । तर समग्रमा प्रहरी परिचालन निरन्तर छ ।
पछिल्लो समय प्रहरी सबै जसो परिवर्तन गरिए । अधिकांश नयाँ पुगे । जसको कारण खटनपटन र ड्युटी गराइमा तारतम्य नमिलेको हुन सक्छ । तर प्रहरी झन परिचालन गरिएको छ, यो हाम्रो दावा हो ।
होटल रेस्टुरेन्ट देखि हरेक क्षेत्रमा प्रहरीले निगरानी घण्टा घण्टामा बढाएको छ । लागूऔषध चरेश सेवनकर्ताहरु ठाउँका ठाउँ समातिएका छन् । पटकपटक चोरीमा संग्लन नाबालकलाई समेत सुधार गृह डोटी पठाएका छौं । मलाई लाग्छ प्रहरीले ‘फुल इफोर्ट’ लगाएर काम गरेको छ । समग्र मूल्यांकन गर्ने त यहाँहरु र जनताले नै हो ।
प्रहरी सबैभन्दा नजिक जनतासँग पुगेकै भनेको मेरो कार्यकालमा हो । सबैभन्दा बढि सचेतना कार्यक्रम गरिएको तथ्य हामीसँग छ । विद्यालयमा, समुदायमा जहाँ पनि प्रहरीले गएर कार्यक्रम गरेको छ ।
अन्तमा, साझा बुझाई बनाऔं ः अपराध नियन्त्रण, शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीकै हो । यसमा पुलिस, पत्रकार र आम नागरिकको साथ अनिवार्य छ । राम्रो कामलाई राम्रो भनौं कमीकमजोरी भएका छन् भने त्यौ पनि भनौं । सच्चिन र सच्याउन तयार छौं ।
