जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक वर्षको अवधिमा चार हजार भन्दा बढि नागरिकता वितरण गरेको छ । कार्यालयले आर्थिक वर्ष ०८०÷०८१ मा प्रशासनबाट चार हजार ८६ नयाँ नागरिकता वितरण गरेको हो ।
कार्यालयले बुधबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा पत्रकार भेटघाट गरी एक वर्षको अवधिमा गरेका काम प्रगतिबारे जानकारी गराएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले गत आर्थिक वर्षको सोही अवधिमा दुई हजार आठ सय ७५ थान नागरिकताको प्रतिलिपि वितरण गरेको छ ।
यस्तै एक वर्षको अवधिमा एक हजार पाँच सय ८७ थान राहदानी सिफारिस गरेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा एक वर्षको अवधिमा विभिन्न प्रकृतिका ५० थान मुद्धा दर्ता भएको छ । जसमध्ये १८ वटा मुद्धाको फछ्यौट गरिएको उनले बताए । गत आर्थिक वर्षको साउन देखि असार मसान्तसम्ममा १४० वटा ठाडो उजुरी परेका छन् ।
विपद व्यवस्थापनतर्फ प्रशासनले गत आर्थिक वर्षमा ३ जना मृतकका हकदार परिवारलाई प्रतिपरिवार दुई लाखका दरले छ लाख रुपैयाँ वितरण गरिएको उनले जानकारी दिए ।
९३ लाख राजस्व संकलन
जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक आर्थिक वर्षमा ९३ लाख ३१ हजार दुई सय २० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले पत्रकारहरुसँग भेटघाट गर्दै गत वर्ष कार्यालयले संकलन गरेको राजस्व बारे जानकारी गराए ।
कार्यालयले राहदानी शुल्कबाफत ८५ लाख ७ हजार ५ सय, न्यायिक दण्ड, जरिवाना र जफतबाट १ लाख ५३ हजार ५ सय ६७ रुपैयाँ, हातहतियार इजाजत पत्र नवीकरण दस्तुरबाट ४ लाख ४३ हजार ४ सय, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट १ लाख १३ हजार राजस्व संकलन गरिएको उनले बताए ।
यस्तै कम्पनी, संस्था रजिष्टेशन नवीकरणबाट ७८ हजार ७ सय, सरकारी सम्पत्तिको विक्रीबाट ६ हजार ८ सय, परीक्षा शुल्क १७ हजार ७ सय र अन्य प्रशासनिक सेवा शुल्क ४ हजार संकलन गरिएको छ ।
