दार्चुला । दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले दार्चुलामा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको निरीक्षण गरेका छन् । महाकाली नगरपालिका–८ असिगडा र भारतको छारछुम जोड्ने मोटरेवल पुलको निरीक्षण गरेका हुन् ।
निर्माणाधिन पुलको पछिल्लो अवस्था र कार्यप्रगतिको बारेमा पूर्वमन्त्री बडूले कार्य क्षेत्रमा पुगेर अवलोकन गरेका छन् । स्थलगत निरीक्षणका क्रममा पूर्वमन्त्री बडूले पुल निर्माण कम्पनीका ईन्जिनियर नरेन्द्र शर्मासँग छलफल गरी समयमै काम सम्पन्न गर्न आग्रह गरे । कार्यक्रममा भारतीय पक्षबाट सरकारी अधिकारीको भने उपस्थिति रहेन् ।
पुल निर्माण कम्पनीका ईन्जिनियर शर्माले पुल निर्माणको सम्पूर्ण काम अक्टोवर महिनासम्म सकिने जानकारी गराएको छ ।
पुल निर्माण सम्पन्नपश्चात यातायात तथा मालवाहक सवारी साधनको सहज आवागमनका लागि आवश्यक सुरक्षा, अद्यागमन, भन्सार, क्वारेन्टाइनसमेतको विस्तृत प्रतिवेदनबारे संस्थागत ताकेता गर्न सम्बन्धित कार्यालयलाई भनिएको छ ।
भारतीय पक्षले दार्चुलाको असिगडा र भारतको छारछुम जोड्ने गरी १ सय १० मिटर लम्बाइको मोटरेवल पुल निर्माण गरिरहेको छ । जुन अहिले निर्माणको अन्तिम चरणमा रहेको छ । उक्त मोटरेवल पुलको २०७९ असोज ३ गते उद्घाटन भएको थियो ।
भारतीय कम्पनी पी एण्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाले निर्माण गरिरहेको उक्त पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपैयाँ रहेको छ ।
