नुवाकोट – नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार रुपैयाँ उपलब्ध गराइरहेको छ ।
बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै पाँच हजार रुपैयाँ बैंक दाखिला गराउन थालेको वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिनुभयो । बच्चाको जन्मदर्ता गराएसँगै बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप पाँच हजार रुपैयाँ जम्मा गरिदिने उहाँले बताउनुभयो ।
‘बच्चाको जन्मदर्ता गराउन र जन्मेलगत्तै बैंक खाता सुनिश्चित बनाउन नगद जम्मा गर्ने व्यवस्था मिलाउन शुरु गरेका हौँ’ , वडाध्यक्ष न्यौपानेले भन्नुभयो, ‘जम्मा भएको रकम बच्चा वयस्क भएपछि झिक्न पाउने नियम बनाएका छौँ ।’
गएको साउनदेखि कार्यान्वयनमा ल्याइएको कार्यक्रमबाट अहिलेसम्म २६ जना बच्चाको खातामा रकम जम्मा भइसकेको छ । यसबापतको लाग्ने बजेट वडा कार्यायलले आफ्नो आन्तरिक स्रोत तथा विविध शीर्षकबाट मिलाएको छ ।