बाजुरा । माघ १५ गतेबाट हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी तिब्र पारिएको छ । बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविको खेल मैदानमा हुने शिल्डको तयारीका कामहरुलाई तिब्रता दिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष रोकेश थापाले बताएका छन् ।
जिल्ला खेलकुद समितिले गरेको निर्णय अनुसार माघ १५ देखि १८ गतेसम्म चार दिन बुढीनन्दा नगरपालिकाको कोल्टीमा शिल्ड आयोजना गर्ने निर्णय गरेको छ । समितिको सिंगो टिम र पालिका स्तरीय खेलकुद विकास समिति र शाखाहरु आयोजनामै खटिएका छन् ।
खेलको माघ १५ गते भव्य समारोहबीच प्रतिनिधी सभा सदस्य बद्री प्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नौ वटै स्थानीय तहका करिब हजारको संख्यामा खेलाडी सहभागि हुने अनुमान गरिएको शिल्ड तीनदिन सम्म चल्ने छ ।
करोड बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको शिल्डमा दर्शक देखि हजारौको संख्यामा खेल प्रेमी सहभागि हुने अनुमान गरिएको छ । कोल्टीमा पहिलो पटक रनिङ शिल्ड आयोजना हुन लागेको हो । मार्तडी पछि पहिलो पटक खप्तड छेडेदह गाउँपालिका स्थित आटीचौरमा आयोजना गरिएको थियो ।
आटीचौर स्थित दशरथ माविमा भने दुई पटक रनिङ शिल्ड आयोजना गरिसकिएको छ । कोल्टीमा हुने शिल्डलाई सुरक्षाका दृष्टीले अतिसंवेदनशिल र सर्तकर्ताका साथ हेरिएको आयोजक खेलकुद विकास समितिले जनाएको छ । जिल्ला सुरक्षा समितिले पनि व्यापक सुरक्षा फोर्स खटाएको छ ।
पालिका स्तरीय शिल्डबाट छनोट भएका खेलाडीहरु कोल्टीजानेक्रम बढीसकेको छ । खेलमा नौ वटा पालिका बीच प्रतिस्पर्धा गराइने भएको छ । पालिका स्तरीय छनोटबाट जितेका खेलाडीले जिल्लाको प्रतिनिधीत्व गर्दै प्रदेश स्तरीय शिल्डमा भाग लिन पाउने छन् ।
१८ वर्षमुनिका कक्षा १२ सम्म नियमित अध्ययन गर्ने छात्रछात्रा खेलाडी मात्रै प्रतियोगितामा सहभागि गराईने छ । खेलाडीलाई अनिवार्य १ प्रतिफोटो, जन्मदर्ताको प्रतिलिपी सहीत खेलाडीको फारम अनिवार्य भरिएको हुनुपर्ने, टिम खेलमा एउटा ईभेन्टमा मात्र सहभागि हुने पाउने भनिएको छ ।
एथ्लेष्टिक खेलाडीले १ फिल्ड १ ट्याक, २ फिल्ड २ ट्याक मात्र सहभागि हुन पाउने, मार्सलआर्टको कुनै पनि विधाका प्रशिक्षक विना खेलाडी सहभागि हुन नपाउने, प्रत्येक पालिकाका प्रशिक्षक र खेलाडीहरुको पहिचानको एउटै पोशाक, स्पोर्टस जुक्ता हुनुपर्ने र कबडी खेलाडीलाई निक्याप र राष्ट्रिय झण्डा, पालिकाको व्यानर सहीत सहभागि हुनुपर्ने बाजुरा जिल्ला खेलकुद समिति अध्यक्ष राकेश थापाले बताएका छन् ।
बुढीनन्दा नगरपालिका कोल्टीमा सञ्चालन हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अब तीब्र पारिने भएको छ । ९ वटै स्थानीय तहमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरिसकेको छ ।
राष्ट्रपति रनिङ शिल्ड अवधीभर राती ८ बजेपछि होटल पसल खोल्न नपाइने भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टी स्थित जनप्रकाश माविमा यही माघ १५ गतेदेखि शिल्डको अवधीभर राती होटल पसल खुला गर्न नपाइने नगरपालिकाले निर्णय गरेको हो ।
रातीको समयमा हुने संभावित असुरक्षा र घटनालाई लक्षित गरेर सुरक्षा निकायसँगको परामर्शमै निर्णय गरिएको नगर प्रमुख जनक कुमार बोहराले जानकारी दिएका छन् । नगरपालिका भित्र तीन दिनको अवधीमा मदिरा विक्री वितरण र सेवनमा पनि रोक लगाइएको छ ।
विक्री वितरण र सेवन गर्ने माथि कारवाही गर्ने लिखित निर्णय समेत गरिएको छ । सेवन गरेको भेटीएमा प्रहरीलाई बुझाउने र सम्बन्धीत व्यक्तिबाट २ हजार ५ सय रुपैया नगद सहीत कारवाही गर्ने निर्णय गरिएको छ । शिल् सफल पार्न विभिन्न उपसमिति गठन गरिएको छ ।