दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ दहका २५ वर्षीय उमेश कुवँर दुई जना प्रहरी माथि चक्कु प्रहार गरेर फरार भएका छन् । आइतबार हिजो दिउँसो डिउटीमा खटिएका प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्मर बहादुर ठगुन्नालाई कुवँरले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताउनुभयो ।
उमेशले आफ्नै श्रीमती धनिशा कुवँरलाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरी कार्यालयमा निबेदन दिएपछि प्रहरी टोली कुवँरको घरमा गएको थियो । घटनाको अनुसन्धानका लागि सामुदायिक प्रहरी केन्द्र बंगाबगरबाट उमेशको घरमा गएको प्रहरी टोलीमाथि आक्रमण भएको हो । उमेशले धनिशालाई चक्कु प्रहार गर्न खोजेको बेला बचाउन खोज्दा प्रहरीलाई नै लागेको बताइएको छ ।
चक्कु प्रहारबाट प्रहरी जवान डम्बर ठगुन्नाको आँखा र कानको तल्लो भागमा गहिरो चोट लागेको छ । प्रहरी हवल्दार जयबहादुर खड्कालाई समेत चोट लागेको छ । दुबै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र जवान ठगुन्नाको घाउमा सात टाका लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते दुबै प्रहरी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
गत भदौमा भागेर बिहे गरेका उमेश र धनिशाको झगडा हुदै आएको आफन्तजनले समेत बताएका छन् । उमेशले धनिशालाई पीटेर घरेलु हिंसा गरेको निवेदन समेत प्रहरीमा पुगेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिन प्रहरी टोली उमेशको घरमै गएको थियो ।
प्रहरीलाई चक्कु प्रहार गरेर भागेका उमेशको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताउनुभयो । उमेश केही समय पहिले सुधार गृहबाट फर्किएको समेत बताइएको छ । चक्कु प्रहार गर्ने कुवरमाथि ज्यानमार्ने उद्योगको मुद्धा दर्ता गर्ने तयारी भइरहेको बताइएको छ ।