दार्चुला सहित सुदूरपश्चिममा ‘नरहरि’ पर्व धुमधामसाथ मनाइँदै

दार्चुला । दार्चुला सहित सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व धुमधामसाथ मनाइँदैछ । माघेसङ्क्रान्तिलाई सुदूरपश्चिममा नरहरि पर्वका रुपमा मनाउने चलन रहेको छ ।

माघेसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन छ । पुस मसान्तमा माडा माणा तथा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने गरिन्छ । उक्त खानेकुरा माघेसङ्क्रान्तिका दिन एकाबिहानै नुहाइधुवाइ गरी ‘का कौवा का, मेरो माणो खा’ भन्दै कागलाई बोलाई खुवाउने चलन छ । कागलाई नखुवाई तथा ननुहाई खाँदा अपवित्र होइने जनविश्वास रहीआएको छ ।

धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम कागले गर्ने मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको शास्त्रमा उल्लेख छ । कागलाई यमराजको सन्देश वाहकका रुपमा समेत पूजा गर्ने चलन रहेको छ । आजको दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने गरिन्छ । कागलाई विशेष गरी अशुभ सन्देश प्रवाह गर्ने पक्षीका रुपमा लिइन्छ ।

कागले पुस १५ गते तीर्थस्थलमा गई स्नान गरी आज फर्केर रोटी खाने गरेको जनविश्वास छ । काग अत्यन्तै चलाखसँगै सर्वभक्षी प्राणी हो ।

कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता छ । यसले अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा र सबै प्रकारका फोहर खाइदिने हुनाले सर्वगुणी पक्षीका रुपमा पनि लिइन्छ ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको पण्डित भट्ट बताउँछन् । कागले लगेर लुकाएको रोटीलाई ब्याउने गाईलाई खुवाए बाच्छाबाच्छी सप्रिने विश्वास समेत रहेको छ ।

माघमा माछा मासु खानु हुँदैन भन्ने चलन पनि पुस्तौंदेखि चलिआएको छ । पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन अनुसार यसलाई ‘पुसको पाक्य माघको खाक्य’ पनि भन्ने गरिएको छ ।

माघेसङ्क्रान्तिमा कामको सिलसिलामा बाहिर रहेका यहाँका बासिन्दा घर फर्किन्छन् भने विवाहित महिला माइतीघर जाने गर्छन् ।

सम्बन्धित समाचार

ताजा समाचार