दार्चुला । दार्चुला सहित सुदूरपहाडमा नरहरी पर्वको रौनक छाएको छ । मकर सक्रान्तिलाई सुदूरपश्चिमका पहाडी क्षेत्रमा नरहरी सक्रान्तिको रुपमा मनाउने चलन रहीआएकोले अहिले रौनक छाएको हो । नरहरी पर्वमा पौष मसान्तको राती मिठोमसिनो खाने चलन रही आएको छ भने माघे सक्रान्तिको बिहानै नुवाईधुवाई गरेर कागलाई खानेकुरा दिने चलन रही आएको छ ।
माघे सक्रान्तिमा कागलाई मिठा खानेकुराहरु खुवाउँदा पाप नष्ट हुने धार्मीक मान्यता रहीआएको स्थानीय संस्कृतिका जानकार मोहन देव विष्टले बताए । माघ महिनालाई धार्मीक महिना मान्ने प्रचलन रहेको पनि उनले बताए । दार्चुला सहित सुदूरपहाडमा नरहरी पर्वको समयमा चामलको रोटी माडा, झुनमुने तरुल लगायतका परिकार बनाएर खाने चलन छ । ती परिकारहरु माघे सक्रान्तिको बिहानै कागलाई समेत दिने चलन रही आएको छ ।
मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिएको स्थानीय किसन धामीले बताउनु भयो । माघे सक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरी ‘का कौवा का, मेरो रोटी खा’ भनेर बालबालिकाहरुले कागलाई बोलाउँदै खुवाउने प्रचलन रहेको छ । कागलाई खबर आदानप्रदान गर्ने पंक्षिको रुपमा चिनिन्छ ।
यसलाई यमराजको सन्देश वाहकका रुपमा पनि पूजा गरिन्छ । नरहरीका लागि वन तरुल खन्ने कार्यमा स्थानीयहरु व्यस्त रहेका छन् । पौष मसान्तमा तरुल खन्न जाने र राति पकाएर सबै एकै ठाउँमा बसेर खाने चलन रहिआएको छ ।
आज राती र भोली दिउँसो तरुल सहित मिठो मसिनो खाने चलन रही आएको स्थानीय रोहित महराले बताए । भोलीदेखि नै माघस्नान गर्ने चलन समेत रहीआएको छ । माघ महिना धार्मिक महिना भएकाले माछा मासु पनि खानु हुँदैन भन्ने पुस्तौदेखि चलिआएको प्रचलन रहेको छ ।
सुदूरपहाडमा माघे सक्रान्ति नरहरीलाई हर्षोउल्लास तरिकाले मनाइने गरिन्छ । यो पर्वमा कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरु घर फर्किने गरेका र बिबाहित महिलाहरु माइती घर आउने चलन रहिआएको छ ।