एमालेले गरेकोबाहेक गठबन्धन सरकारले दार्चुलाको लागि के गर्यो ?

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दार्चुलाको विकासमा नेकपा एमालेको सरकार हुँदा मात्रै विकासको काम अघि बढेको बताएका छन् । नेकपा एमालेको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले विकास निर्माणको अगुवाई एमालेले मात्रै गरेको बताए ।
तेस्रोपटक दार्चुला पुगेका पोखरेलले एमालेसँगैमात्रै विकासको भिजन भएको बताए । उनले भने, दार्चुला–तिंकर सडक सेनालाई जिम्मेवारी दिने काम होस् अथवा सबैभन्दा बढि बजेट विनियोजन गर्ने काम हामीले ग¥यौं । व्याँसमा सशस्त्र प्रहरीको गुल्म राख्ने देखि सुरक्षा प्रत्याभूति गराउने काम एमालेले गरेको बताए ।
केपी ओली नेतृत्वको सरकारले तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण, सबैपालिकामा अस्पताल निर्माणको काम अघि बढायो । हरेक नागरिकलाई स्थानीय तहमै सुविधा दिन प्रशासकीय भवन निर्माण देखि विकास निर्माणको सब्बै काम हाम्रै पालामा अघि बढेका छन् । गठबन्धनको सरकार आएपछि विकास निर्माणको काम कहाँ भए ? उनले भने ।
नेकपा एमाले दार्चुलाको नवौं जिल्ला अधिवेशनलाई सम्बोधनगर्दै पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्नाले एमालेले अघि बढाएका योजनाको हालत के छ भनेर गठबन्धनलाई सोध्नुपर्ने बेला आएको बताए । हामीले अघि बढाएका काम प्रष्ट देखिएका छन्, देशमा गठबन्धनको सरकार छ, काम के गर्नुभयो भनेर राजनीतिक कार्यकर्ता, बुद्धिजीजि, पत्रकार, नागरिक समाजले सोध्नुपर्ने बेला भएको छ ।
उनले थपे, हाम्रो प्रयासमा तीन बर्ष अगाडि दार्चुला–तिंकर सडकमा तीन अर्व बजेटको ब्यबस्था गरि सेनाको जिम्मा लगाएको सडक को अहिलेको अवस्था के छ ? कति छ सो सडकमा अहिले बजेट ? गोकुलेश्वर एयरपोर्टमा अहिले बजेट कति छ ? हामीले काम सुरु गर्दाको बजेट हेर्नुहोस् ? २०७० सालमा दार्चुलाबासी जनताको समस्या समाधान गर्न आएको महाकाली नदि नियन्त्रणको कार्यालय आज कता छ । किन जिल्लामा कार्यालय राख्न सकेनन् सोध्नुपर्दैन् ? उनले भने ।
बर्षौ अगाडि बजेटको ब्यबस्था गरि संचालनमा ल्याएको पारिबगर–खण्डेश्वरी सडकको अवस्था के छ त्यस्मा कति बजेट छुट्टाएको छ जवाफ चाहियो ? दार्चुलाबासी जनतालाई । यसको जवाफ कसरी दिनुहुन्छ । सयौं खानेपानी योजना सञ्चालन ग¥यौं ती आयोजनामा अहिले बजेट शून्य छ कसरी भयो ? कम्तीमा हजार भए पनि राख्नुपथ्र्यो नि ?
आजबाट सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनको अहिले बन्द सस्त्र चलिरहेको छ । अहिलेसम्म जिल्ला कमिटी अध्यक्षमा ४ जना सहित पदाधिकारीमा २७ जना आकांक्षीहरु देखिएका छन् । सबै पदहरुमा सकेसम्म सर्वसम्मत बनाउने प्रयास भइरुहेको छ । यो पटक आंकाक्षीहरुलाई अधिवेशन हुनु अगावै नेतृत्वमा दाबी गर्न लगाइएको थियो । जसमा ४ जना अध्यक्ष, उपाध्यक्षमा ५ जना, सचिवमा ५ जना र उपसचिवमा १३ जना आकांक्षी रहेका छन ।
एमालेले दार्चुलाका ६१ वटै वडामा पुस १४ गते शनिबार एकसाथ अधिवेशन प्रतिनिधि चयन गरेको थियो । नवौँ जिल्ला अधिवेशनमा झण्डै साढे चारसय प्रतिनिधि छनोेट भएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार