नेपाली युवतीहरुको दुईथरी भिसा लगाएर कुवेत तस्करी

नेपालले खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ । तर, तस्करहरूले श्रम स्वीकृति लिन रोजगारदाता कम्पनीको नाम खुलाएर भिसा जारी गराउँछन्, जुन विमानस्थलसम्म देखाइन्छ ।

– अर्को भिसामा ‘घरेलु कामदार’ नै उल्लेख गरिएको हुन्छ, कुवेत पुगेपछि त्यसकै आधारमा घरेलु कामदारका रूपमा काम लगाइन्छ ।

सरकारले कुवेतलगायत खाडी मुलुकमा घरेलु मजदुर पठाउन प्रतिबन्ध लगाएको छ । तर, एउटै राहदानीबाट दुईवटा भिसा बनाएर घरेलु मजदुरका रूपमा नेपाली युवतीहरूको तस्करी हुने गरेको छ ।

नयाँ पत्रिकालाई प्राप्त कागजपत्रअनुसार नेपाल र कुवेतमा देखाउन दुईथरी भिसा बनाएर पठाउने गरिएको छ । एउटा भिसा श्रम स्वीकृति प्राप्त गर्नका लागि बनाइएको देखिन्छ भने अर्को भिसा कामदारलाई उपलब्ध गराउन बनाइएको देखिन्छ । श्रम स्वीकृति प्राप्त गर्न दिइएको भिसामा कामको प्रकृति ‘घरेलु मजदुर’ उल्लेख गरिएको छैन, कुवेत जानुको उद्देश्य कम्पनीमा काम गर्ने उल्लेख गरिएको छ । रोजगारदाता कम्पनीको नाम पनि भिसामा प्रस्टसँग खुलाइएको छ । यसलाई आधार बनाएर कुवेतस्थित दुतावासले श्रम स्वीकृतिका लागि पत्र लेखेको छ, जसमा श्रम सहचारी हेमकुमार अधिकारीको हस्ताक्षर र दूतावासको छाप छ ।

तर, कुवेत पुगेपछि मजदुरलाई दिइने अर्को भिसामा भने प्रस्टसँग कामको प्रकृति ‘घरेलु मजदुर’ उल्लेख गरिएको छ । अरबी भाषामा उल्लेखित उक्त भिसा सबैले पढ्न सक्दैनन् । तस्करी गरिएका युवतीले कुवेत जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको चेकजाँचमा ‘घरेलु मजदुर’ उल्लेख नगरिएको भिसा देखाउँछन् र सजिलै कुवेत पुग्छन् । त्यहाँ पुगेलपछि अर्को भिसा प्रयोग गर्छन् र घरेलु मजदुरका रूपमा काममा लगाइन्छ ।

सम्बन्धित समाचार

ताजा समाचार