दार्चुला । दार्चुला–बैतडी जोड्ने कर्कले पुलमा ठूला सवारी साधन चलाउन रोक लगाइएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ रुद्रेश्वर जोड्ने चमेलिया नदीमाथिको बेलिब्रिज भासिएपछि ठूला सवारी साधन आवागमनमा रोक लगाइएको हो ।
चमेलिया जलविद्युत आयोजनाले एक सूचना जारी गर्दै पुलको दार्चुलातर्फको मुख्य पिल्लर भएको ठाउँमा जमीन भासिएकाले दुर्घटनाको जोखिम रहेको जनाएको छ । पुल मर्मत कार्य नहुञ्जेलसम्मका लागि ठूला सवारी साधन चलाउन रोक लगाइएको हो ।
कर्कले पुलमा गोकुलेश्वरबाट पंसेरा, बलाँच, सिमार, गन्ना, बिटुले, मार्मा हुँदै अपिहिमाल गाउँपालिकाको मकरिगाडसम्म आवतजावत गर्ने दर्जनौं सवारीसाधन चल्दै आएका छन् ।
पुल भासिएको ठाउँमा प्रहरीले स्थलगत अध्ययन गरिएको र पुलको पिल्लर भासिएकाले मर्मत नहुँदासम्म पुलबाट आवतजावत गर्न जोखिम रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।