नयाँ दिल्ली — हिमाचल प्रदेशको सरकारी सेवामा कार्यरत नेपालीहरुले पनि अब अवकाशपछि पेन्सन पाउने भएका छन् ।

हिमाचलमा सरकारी जागिरमा रहेका नेपालीले पनि पेन्सन पाउने

हिमाचल सरकारले पुरानो पेन्सन योजनालाई लागू गरेपछि सरकारी सेवामा स्थायी भएकाहरुले पेन्सन पाउने सुनिश्चित भएको अखिल भारत नेपाली एकता समाजका अध्यक्ष साईला लामाले बताए । सरकारले पेन्सनको योजना नै बन्द गरेपछि त्यसबाट भारतका नागरिकसँगै नेपाली पनि बञ्चित थिए ।

गत वर्ष पुरानो पेन्सन योजनालाई कार्यान्वयनमा ल्याउने नारा दिएर कांग्रेसले चुनाव जितेको छ । मुख्यमन्त्री सुखविन्दरसिंह सुख्खुले पेन्सन योजना कार्यान्वयनमा ल्याउने निर्णय गरेपछि त्यसको लाभ नेपालीले पनि पाउने लामाले बताए । त्यसका लागि आवश्यक कानुनी प्रक्रियाहरु सुरु भइसकेको छ । हिमाचालभरि निर्माण, वन लगायतका विभागमा २५ सय नेपालीहरु जागिरमा रहेको अनुमान छ । त्यसमध्ये कतिपय छोटो अवधिका लागि करारमा र धेरैजसो स्थायी भइसकेकाहरु रहेको उनले लामाले जानकारी दिए । सन् २००० यता स्थायी भएका कर्मचारीहरुले अब पेन्सन पाउने छन् ।
नेपालीहरुले पनि पेन्सनको लाभ पाउने भएपछि मनालीमा एक कार्यक्रमको आयोजना गरेर सरकारलाई धन्यवाद दिएका छन् । कुल्लु–मनाली क्षेत्रका सरकारी कार्यालयमा मात्र १ सय ५० जना नेपालीहरु स्थायी कर्मचारी रहेको लामाले बताए ।
बुधबार मूल प्रवाह समितिले एक कार्यक्रमको आयोजना गरी मनाली क्षेत्रका विधायक भूवनेश्वर गोलमार्फत सरकारलाई धन्यवाद दिएका हुन् । विधायक गोलले नोकरी पश्चात मानिसहरुलाई सुरक्षाको चिन्ता हुने गरेको र पुरानो पेन्सन हट्दा चिन्ता थपिएको बताएका थिए । उनले नोकरीमा रहेकाहरुलाई त्यस चिन्ताबाट निकाल्न सरकारले पुरानो पेन्सन योजना पुनः लागू गरेको बताए । उनले सरकारलाई आभार व्यक्त गर्न गरिएको कार्यक्रमप्रति कृतज्ञता व्यक्त गरेका थिए ।