बैतडी- जिल्ला अस्पताल बैतडीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । यहि असोज १३ गते अस्पतालमा मानसिक रोगसम्बन्धी शिविर सञ्चालन हुने भएको हो । जिल्ला अस्पताल बैतडीले असोज १३ गते शनिबार शिविर सञ्चालन हुने जनाएको छ । मानसिक समस्या भएका बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन भैरहेको जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डन्ट डाक्टर सुशिल बिकले जानकारी दिए ।
शिविरमा मानसिक रोगीहरुको चेकजाँचका साथै उपचार गरिने बताइएको छ । शिविरमा मानसिक रोग बिशेषज्ञ डा.निराजन भट्टराईले सेवा दिने मेडिकल सुपरिटेन्डन्ट डाक्टर बिकले बताए । निशुल्क रुपमा सञ्चालन हुने शिविरमा नेपाल सरकारले प्रदान गरेका औषधिहरु निशुल्क रुपमा बिरामीहरुलाई प्रदान गरिने बताइएको छ ।
शिविरमा आएर सेवा लिनका लागि मानसिक समस्या भएका बिरामीहरुलाई आग्रह समेत गरिएको छ । जिल्ला अस्पताल बैतडीमा विश्व स्वास्थ्य संगठनको सहयोगमा हरेक महिनाको १३ गते मानसिक स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ ।
भदौ १३ गते जिल्ला अस्पताल बैतडीमा सञ्चालन भएको मानसिक स्वास्थ्य शिविरमा ४० जनाले सेवा लिएका थिए ।