अनसनपछि डा. गोविन्द केसी छाङ्गरुमा : तीनदिने विशेषज्ञ शिविर, भारतीय नागरिकसमेत लाभान्वित

दार्चुला । धनगढीमा विभिन्न माग राख्दै अनसन बसेका डाक्टर गोविन्द केसी पुन ः दार्चुलाको दुर्गम बस्तीमा पुगेर स्वास्थ्य सेवा दिएका छन् । उनले दार्चुलाको व्यास गाउँपालिका–१ स्थित कालापानी नजिकको छाङरु गाउँ पुगेर तीनदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरि सेवा दिएका हुन् ।

छाङरु स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा हाडजोर्नी तथा अन्य विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको छाङ्गरु स्वास्थ्य चौकी प्रमुख बिक्रमसिह शाहुले जानकारी दिए । शाहूका अनुसार शिविरमा हाडजोर्नी सम्बन्धी समस्या भएका १०७ जनाले विशेषज्ञ उपचार सेवा पाएका छन् । सेवाग्राहीमध्ये भारतको गब्र्याङ गाउँका ७ जनाले सेवा पाएका छन् ।

शिविरमा छाङगरुका स्थानीय बासिन्दा, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा विभिन्न निर्माण कार्यमा संलग्न मजदुरहरूले स्वास्थ्य सेवा लिएका छन् ।
दुर्गम गाउँमै विशेषज्ञ चिकित्सकबाट उपचार सेवा पाउँदा स्थानीय बासिन्दा खुसी भएका छन् । डा. केसीले अनसनअघि पनि व्यास गाउँपालिका–४ को सुनसेरामा स्वास्थ्य शिविर सञ्चालन गरेका थिए ।

योपटक दार्चुलाको अन्तिम गाउँ तिंकरसम्म पुगेर सेवा दिने योजना रहे पनि व्यक्तिगत स्वास्थ्य अवस्थाका कारण जान नसकेको शाहुले बताए । लामो दूरी पैदल हिँड्न नसक्ने भएपछि उनी त्यहाँ पुग्न सकेनन् । तिंकर गाउँ पुग्न नसकेपछि उनले क्षमायाचना समेत गरेका छन् ।
शिविरमा प्रयोग भएका महत्वपूर्ण औषधि डा. केसीले आफ्नै खर्चमा खरिद गरेर ल्याएका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार