दार्चुलाको दुहुँ व्याँस र मार्मामा गौरा सुरु, लेकममा कहिले ?

दार्चुला । यो वर्ष गौरापर्व दुई मितिमा परेको छ । मिति अनुसार दार्चुलाको व्याँस, दुहुँ र मार्मामा भदौ ७ गते गौरापर्व हुँदै छ । गौरापर्व अन्तर्गत स्थानीयले विरुडा भिजाएर गौरापर्व सुरु गरेका छन् । तर जिल्लाकै सबैभन्दा ठूलो गौरापर्व हुने लेकम क्षेत्रमा भने गौरापर्व भदौ २१ गते मात्रै हुने भएको छ ।
नेपालका पचाञ्ङ्गहरुमा सुदूरपश्चिमका अठोला पञ्चाङ्ग, शुभ पञ्चाङ्ग लगायत ले २०८० साल भदौ ७ गते गौरा पर्व मनाउन उत्तम रहेको सार्वजनिक गरे । भने सुदूरपश्चिमका धेरैजसो स्थानीय ज्योतिषहरुले भदौ २१ गते गौरा मनाउनु उत्तम रहेको साइत दिएपछि यो पटक गौरापर्व मनाउने विषयमा दुई वटा मिति तय भएका हुन् ।
भदौ ७ गतेको गौराका लागि ४ गते बिरुडापञ्चमी, ५ गते नानी गौरा, ६ गते अमुक्ताभरण सप्तमी र अन्तिम दिन ७ गते गौराष्टमी छ । भदौ २१ मा गौरा मनाउनेको १८ गते बिरुडापञ्चमी, १९ गते नानी गौरा, २० गते अमुक्ताभरण सप्तमी र २१ गते गौराष्टमी छ ।
गौरामा पुजाआराधानाका साथै डेउडा ढुस्कु लगायत खेल खेल्नुका साथै दामाहा लगायत बाजा बजाएर रमाइलो गर्ने गरिन्छ । लेकम क्षेत्रमा गौरा सेलाइसकेपछि समेत विभिन्न मठमन्दिरमा गौरा विशेष मेला खेडी, धोडी, लमधोडी लाग्ने गरेका छन् ।
संस्कृति, परम्परा र शास्त्रीय मान्यता अनुसार २१ गतेको गौरा उपयुक्त रहेको स्थानीय ज्योतिषहरूले निष्कर्ष निकालेपछि दार्चुलाको लेकम क्षेत्रमा पछि गौरापर्व मनाइन लागेको हो ।

सम्बन्धित समाचार

ताजा समाचार