काठमाडौं । फरक संस्कृति र परम्परा भए पनि मुस्लिम समुदायका बालबालिकामा संस्कृतमा मोह बढकको छ। विराटनगर–७ स्थित गायत्री संस्कृत माविमा चार सय विद्यार्थी अध्ययनरत छन्। संस्कृत विषयको भाषा, साहित्य र योगशास्त्र अध्ययन अध्यापन हुने मोरङको यो पहिलो विद्यालयमा ४० मुस्लिम समुदायका बालबालिका विभिन्न कक्षामा अध्ययनरत छन् ।
ती बालबालिका इस्लाम धर्मावलम्बी भए पनि हिन्दू धर्मको संस्कृति र परम्पराबारे जान्ने भएका छन् । स्वस्तिवाचनदेखि संस्कृतका विभिन्न मन्त्र जप्न र गायत्री मन्त्र पढ्न बालबालिका पोख्त छन् उनीहरू सजिलै संस्कृत भाषा बोल्ने गर्छन् । विराटनगर–७ हरियाली टोलका सलमान शेख सोही विद्यालयमा कक्षा ८ मा अध्ययन गर्छन्।
उनलाई ठूलो भएपछि आचार्य बन्ने रहर छ । संस्कृत भाषाप्रति अत्यन्तै लगाव भएको शेख बताउँछन् । उनी भन्छन्, ‘संस्कृत सबै भाषाको जननी हो । मलाई संस्कृत भाषा सबैभन्दा सजिलो लाग्छ। संस्कृतले नैतिकता र शुद्ध आचरण सिकाउने गरेको छ।’
उनले घरमा आफ्ना बाबुआमालाई विद्यालयमा पढेको र सिकेको संस्कृत भाषा, व्याकरण र मन्त्रोच्चारण सुनाउने गरेको बताए। आफरोज शेखले छोरा सलमानमा सानैदेखि आध्यात्मिक प्रवृत्तिको रहेको बताए।
उनले आफू सबै धर्मको समान सम्मान गर्ने व्यक्ति भएकाले छोरा सलमानलाई संस्कृत विद्यालयमै भर्ना गराएको बताए । संस्कृतको जग छोराछोरीमा बसाल्न सकियो भने जस्तोसुकै दुःख र परिस्थितिको सामना गर्न सक्षम हुने बुबा अफरोजको ठम्याइ थियो।