महाकाली नगरपालिकाले वक्तृत्वकलामार्फत बालविवाह न्यूनीकरणको सन्देश प्रवाह गरिरहेको छ । दार्चुला विकास संगठनसँगको साझेदारीमा नगरपालिकाभित्रका चार वटा विद्यालयमा वालविवाह न्यूनीकरणका लागि वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको हो ।
बालबालिकालाई बालविवाह सम्बन्धी चेतना दिदा सिँगो समाज परिवर्तन गर्न सकिने हुँदा विद्यालय तहमा वालविवाह न्यूनीकरणका लागि सचेचनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।
बालविवाह न्यूनीकरण कार्यक्रम महाकाली नगरपालिकाभित्रका मालिकार्जुन नमूना मावि धाप, राष्ट्रिय मावि दत्तुमा शुक्रबार गरिएको छ । गत शुक्रबार महेन्द्र नमूना मावि खलंगा र छन्ना तिंकरी कन्या माविमा भएको थियो ।
राष्ट्रिय मावि दत्तु भएको कार्यक्रममा १७ जना बालबालिकाले वक्तृत्वकला प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा दिनेश भाट प्रथम, आयुस नगारी द्वितीय, निशा चौसिर तृतीय र आयुस भाटले सान्तवाना स्थान हासिल गरेका छन् ।
राष्ट्रिय मावि दत्तुमा भएको कार्यक्रममा महाकाली नगर उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले उद्घाटन गरेकी थिइन् । उद्घाटनमा बोल्दै उनले बालबालिकालाई बालविवाह सम्बन्धी चेतना दिन सकेमात्रै परिवर्तन गर्न सकिने बताइन् । अहिले कलिला बालबालिकाले आफुबाटै परिवर्तन ल्याउन सके समाजमा रहेको बालविवाह न्यूनीकरण गर्न सकिने उनको भनाई छ ।
यस्तै शुक्रबार नै मालिकार्जुन नमूना मावि धापमा भएको कार्यक्रममा १८ जना विद्यार्थीले वक्तृत्वकला प्रतियोगितामा भाग लिएका छन् । जसमा विराजमान बडू प्रथम, दुर्गा जोशी द्वितीय, जेनी धामी तृतीय र मिलन ओडले सान्तवना स्थान हासिल गरे । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान प्राप्त गर्ने विद्यार्थीलाई क्रमश नगद तीन हजार ५ सय, दुई हजार ५ सय, एक हजार ५ सय तथा एक हजार रुपैयाँ नगद तथा प्रमाण पत्र प्रदान गरिएको छ ।
मालिकार्जुन मावि धापमा भएको कार्यक्रम महाकाली नगर प्रमुख नरसिह चैसिरले उद्घाटन गरे । उद्घाटनमा बोल्दै नगर प्रमुख चैसिरले सिकाइलाई व्यवहारमा उर्तान आग्रह गरे । ‘बालविवाह गर्नु अपराध हो । हामीले आज सिकेका कुरा हामीबाटै लागू गरौ,’ उनले भने, ‘जबसम्म आफुले सिकेका कुरा परिवर्तन गर्न सक्दैनौ, तबसम्म सिकाईको उपलब्धि मान्न सकिदैन् ।’
विद्यालय तहमा बालबालिकालाई बालविवाह सम्बन्धी शिक्षा दिदा सिंगो समाज परिवर्तनमा सहयोग पुग्ने मालिकार्जुन नमूना मावि धापका प्रधानाध्यापक सुन्द्रसिह बुढाथोकीले बताए ।
विद्यालयमा गरिएको प्रतियोगितामा पहिलो दोस्रो र तेस्रो भएका चार वटै विद्यालयका विद्यार्थीलाई पुनः पालिकास्तरीय प्रतियोगिता गराए प्रतिस्पर्धा गराइने संस्थाले जनाएको छ ।