दार्चुला । गौरा पर्वको अवसरमा दार्चुलाका दुहुँ र मालिकार्जुन गाउँपालिकामा बालविवाह न्यूनीकरण, खाद्य सुरक्षा तथा लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक ग्रामीण विकास समाज नेपाल, दार्चुलाको सहजीकरणमा सञ्चालित ‘एकीकृत सामुदायिक विकास परियोजना’ र ‘अवसर परियोजना’ अन्तर्गत कार्यक्रम गरिएको हो।

स्थानीय वडा कार्यालयहरूको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न माध्यमिक विद्यालयका बाल क्लब, आमा समूह तथा कृषि समूहको सहभागिता रहेको थियो। कार्यक्रममा सडक नाटक, सुरक्षित खाद्य प्रदर्शनी तथा सन्देशमूलक देउडा प्रस्तुत गरिएको थियो।

विद्यार्थीहरूले सडक नाटकमार्फत बालविवाहका कारण, यसबाट बालबालिका तथा परिवारमा पर्ने असर र लागूऔषध दुर्व्यसनका जोखिमबारे सन्देश दिएका थिए। त्यस्तै, आमा तथा कृषि समूहले देउडा गीतमार्फत सुरक्षित खाद्य तथा स्वास्थ्यवर्धक खानपान र बालविवाह न्यूनीकरणसम्बन्धी जनचेतना फैलाएका थिए।
भदौ १९ गते दुहुँ गाउँपालिका–५ पाँसु र वडा नम्बर ४ पोक्सेमा बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको थियो। भदौ २० गते दुहुँ–३ धामी बोहरी गाउँ, वडा नम्बर ४ दौला जोशीगाउँ र वडा नम्बर १ विणमा सडक नाटक तथा देउडा कार्यक्रम गरिएको थियो।
यस्तै, भदौ २५ गते मालिकार्जुन गाउँपालिका–३ मडमा वडा अध्यक्ष मदन सिंह धामीको अध्यक्षतामा बालविवाह न्यूनीकरण, सुरक्षित खाद्य प्रदर्शनी तथा लागूऔषध दुर्व्यसनविरुद्ध सडक नाटक र देउडा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।
अभियानमा दुहुँ गाउँपालिकाका गणेश माध्यमिक विद्यालय, जनविकास माध्यमिक विद्यालय, धारीपाटा माध्यमिक विद्यालय, पिपलचौरी माध्यमिक विद्यालय तथा मालिकार्जुन गाउँपालिकाको मालिकार्जुन माध्यमिक विद्यालयका विद्यार्थी तथा बाल क्लबको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा देउडा प्रतियोगिताका सहभागीहरूलाई पुरस्कार तथा खादाद्वारा सम्मानसमेत गरिएको थियो।
स्थानीय गाउँपालिका, वडा कार्यालय तथा सर्वसाधारणको सहयोगमा सञ्चालन गरिएको उक्त अभियान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५ हजारदेखि १० हजार जनासम्मले अवलोकन गरेका छन्।
गौरा पर्वको सांस्कृतिक महत्वलाई जनचेतना अभिवृद्धिको माध्यम बनाउँदै गरिएको यस अभियानले बालविवाह न्यूनीकरण, लागूऔषध दुर्व्यसन नियन्त्रण तथा सुरक्षित र स्वास्थ्यवर्धक खानपान प्रवर्द्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ।











