डोटी । बडीकेदार धामलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने माग गरिएको छ।

बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति सुदूरपश्चिम प्रदेश डोटीका अध्यक्ष उपेन्द्र बमले बडीकेदार धामको समग्र विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले बजेट विनियोजन गर्नुपर्ने माग गरेका छन् ।

बडीकेदार धाममा वर्षेनी श्रद्धालु तथा पर्यटकको संख्या बढ्दै गएको भए पनि आवश्यक पूर्वाधारको अभावका कारण तीर्थयात्री तथा पर्यटकले विभिन्न समस्या भोग्नुपरेको अध्यक्ष बमको भनाइ छ। उनले आगामी आर्थिक वर्षको बजेटमा बडीकेदार धामको पूर्वाधार विकासका लागि पर्याप्त र परिणाममुखी बजेट सुनिश्चित गर्न सुदूरपश्चिम प्रदेश सरकार तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराए ।

अध्यक्ष बमका अनुसार बडीकेदार धामको व्यवस्थित विकासका लागि सडक तथा पदमार्ग निर्माण तथा स्तरोन्नति, खानेपानी, विद्युत्, विश्रामस्थल, सार्वजनिक शौचालयलगायतका आधारभूत पूर्वाधार तत्काल निर्माण गर्नुपर्ने बताए ।
“बडीकेदार धाम सुदूरपश्चिमकै महत्वपूर्ण धार्मिक आस्थाको केन्द्र हो। यसको व्यवस्थित विकास र आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकार तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्याप्त बजेट छुट्याएर विशेष प्राथमिकताका साथ काम अघि बढाउनुपर्छ,” अध्यक्ष बमले भने ।
उनले बडीकेदार धामको योजनाबद्ध र दीर्घकालीन विकासका लागि गुरुयोजना निर्माण गरी त्यसैअनुसार पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । गुरुयोजनामार्फत धार्मिक पर्यटन, पूर्वाधार, पर्यटक सुविधा तथा स्थानीय समुदायको आर्थिक सहभागितालाई समेत समेटेर बडीकेदार क्षेत्रलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ छ।
बडीकेदार धामको विकासले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा रोजगारी तथा आर्थिक गतिविधि बढाउनसमेत महत्वपूर्ण योगदान पुग्ने भएकाले प्रदेश सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष बमले बताए ।











