दार्चुला । अपिहिमाल गाउँपालिका–१ भट्टर गाउँ नजिकै पहिरो खसेपछि अपि बेस क्याम्प पदयात्रा स्थगित गरिएको छ। पहिरो तथा चमेलिया नदीमाथिको काठेपुलमा क्षति पुगेपछि पदयात्रा जोखिमपूर्ण बनेको भन्दै गाउँपालिकाले तत्कालका लागि पदयात्रा नगर्न अनुराेध गरेको हो।

भट्टर गाउँ नजिकै चमेलिया नदीको केही भाग थुनिने गरी शुक्रबार पहिरो खसेपछि उक्त क्षेत्रमा आवतजावत जोखिमपूर्ण बनेको गाउँपालिकाले जनाएको छ।

हाल पहिरो जाने क्रम रोकिए पनि प्राकृतिक विपद्को जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाेकेन्द्र बहादुर बिष्टले जानकारी दिए ।

अपि बेस क्याम्प पदयात्राको बाटोमा पर्ने भट्टार क्षेत्र पूरै पहिराले ध्वस्त पारेकाे छ । यस्तै पदमार्गकै वडा नम्बर २ धनबाेरा क्षेत्रमा चमेलिया नदीमाथि रहेको काठेपुलको एकापट्टिको भाग नदि कटानले जाेखिममा पारेकाे गाउँपालिकाले जनाएको छ ।
पुलबाट आवतजावत गर्दा भारी सामान नबोक्न र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
गाउँपालिकाले पहिरोको प्रत्यक्ष जोखिम रहेको क्षेत्रबाट पदयात्रीलाई तत्काल आवतजावत नगर्न अनुरोध गरेको छ। साथै, पुलको बाटो हुँदै सामान ओसारपसार गर्ने खच्चरवालालाई समेत पुलबाट सामान नलैजान आग्रह गरिएको छ।
काठेपुल निर्माणको काम भइरहेकाले निर्माण सम्पन्न नभएसम्म पदयात्रा स्थगित गर्न गाउँपालिकाले अनुरोध गरेको हो। पुल तथा पदमार्ग निर्माणपछि मात्रै पदयात्रा पुनः सञ्चालनका लागि सहज हुने जनाइएको छ।
बालीनालीमा भएको वास्तविक क्षतिको विवरण संकलन गर्न गाउँपालिकाका कृषि अधिकृत योगेन्द्र डाँगा र विपद् फोकल व्यक्ति नन्दन सिंह ठेकेरलाई खटाइएको छ।
यस्तै , पहिरोका कारण विद्यालय जान कठिनाइ भएपछि अपिहिमाल–१ स्थित भवानी आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई जोखिम कम नहुँदासम्म सितीमै बस्ने व्यवस्था मिलाउन पहल गरिएको गाउँपालिकाले जनाएको छ।
प्रभावित क्षेत्र भट्टर गाउँका स्थानीयका लागि त्रिपाल, म्याट्रेसलगायत आवश्यक सामग्री गाउँपालिकाको टोलीमार्फत पठाइएको छ।












