रसुवा बाढीपीडितलाई मार्मा गाउँपालिकाको २ लाख ५१ हजार सहयोग

दार्चुला । दार्चुलाको मर्मा गाउँपालिकाले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

बाढीपहिरोका कारण ठूलो जनधनको क्षति तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै हजारौँ नागरिक विस्थापित भएको घटनाप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

गाउँपालिकाले आर्थिक सहयोगसँगै जनप्रतिनिधि तथा कर्मचारीको सेवा सुविधाबाट समेत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको छ।

जसअनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षको एक–एक महिनाको सेवा सुविधा, वडा अध्यक्षहरूको १५ दिनको सेवा सुविधा र कार्यपालिका सदस्यहरूको ७ दिनको सेवा सुविधा बराबरको रकम सहयोग गरिने भएको छ।

त्यस्तै, गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीका हकमा नेपाल सरकारले तोकेबमोजिमको रकम सहयोग गरिने सूचनामा उल्लेख छ।

मर्मा गाउँपालिकाले विपद्को यस कठिन समयमा गाउँपालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, व्यापारी, संघ–संस्था तथा सबै सरोकारवालालाई समेत बाढीपीडितको राहत तथा उद्धारमा सहयोग गर्न अपिल गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार