दार्चुला । जिल्ला खेलकुद विकास समिति दार्चुलाको नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका छन् । समितिको अध्यक्षमा सुरेन्द्रबहादुर बमसहित नौ सदस्यीय नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो ।

प्रदेश खेलकुद समिति सदस्य श्यामराज सिनालको उपस्थितिमा आयोजित कार्यक्रममा नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।

कार्यक्रममा जिल्लाको खेलकुद क्षेत्रको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुद गतिविधिलाई प्रभावकारी बनाउन नयाँ समितिले भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो ।

नवनियुक्त समितिको उपाध्यक्षमा अमित ऐरी, कोषाध्यक्षमा पूर्णबहादुर साउँद तथा सदस्यहरूमा सन्तोष कुँवर, रुपसिंह खाती, अम्बरा कुमारी ठगुन्ना, उर्ती बुढाथोकी, जनकसिंह बडाल र जगतराम लुहार रहेका छन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष सुरेन्द्रबहादुर बमले दार्चुलाको खेलकुद क्षेत्रलाई थप व्यवस्थित र गतिशील बनाउन आफूले प्राथमिकताका साथ काम गर्ने बताए । जिल्लामा रहेका खेलाडीको पहिचान गरी उनीहरूको क्षमता विकास, प्रशिक्षण तथा प्रतियोगिताका अवसर सिर्जना गर्न पहल गर्ने उनले बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष मानसिह बुढाथोकीको विदाइ गरिएको छ ।











