दार्चुला — नेपाली चलचित्र ‘ए मेरो हजुर ५’ को छायांकन सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा हुने भएको छ। चलचित्रका निर्माता तथा अभिनेता सुनिल थापा र अभिनेत्री तथा निर्देशक झरना थापाले आगामी चलचित्रको छायांकन अपिहिमाल, बडीमालिका, खप्तड, रामारोसन, धनगढी र महेन्द्रनगर क्षेत्रमा गर्ने बताएका हुन् ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे बाेहराका अनुसार चलचित्र टिमसँग भएको छलफलकाे क्रममा चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन र लुकेका प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहज हुने छ ।

अपिहिमाल गाउँपालिकाले पर्यटकीय गन्तव्यकाे रूपमा चिनाउने अभियान यसअघि सुरू गरिसकेको छ । अपिहिमालको प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, जनजीवन र ग्रामीण परिवेशलाई चलचित्रका अधिकांश दृश्यमा समेट्ने योजना रहेको अध्यक्ष बाेहराले जानकारी दिए ।

चलचित्र छायांकनले अपिहिमालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त उनले गरे ।
छायांकन सफल बनाउन स्थानीय समुदायको सक्रिय सहयोग आवश्यक रहने उल्लेख गर्दै निर्माण पक्षले स्थानीयवासीको साथ र समर्थनको अपेक्षा समेत गरेको छ।
पर्यटन र चलचित्रको संयोजनले सुदूरपश्चिमका नयाँ पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा सहयाेग पुग्ने भन्दै स्थानीय खुसी व्यक्त गरेका छन् ।











