दार्चुलामा नगदेबाली र फलफूल उत्पादन बढ्यो

दार्चुला । दार्चुलामा गत आर्थिक वर्ष २०८२-८३ मा नगदेबाली तथा फलफूल उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार जिल्लामा आर्थिक वर्ष ०८१-०८२ को तुलनामा नगदेबाली र फलफुल उत्पादन बृद्धि भएको हो ।

जिल्लामा दलहन बालीको उत्पादन भने अघिल्लो आर्थिक वर्षकै हाराहारीमा उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख बिक्रम चौधरीका अनुसार आर्थिक वर्ष २०८१-८२ मा जिल्लाभर १ हजार ३४४ हेक्टर क्षेत्रफलमा दलहन खेती गरिएको थियो । उक्त क्षेत्रबाट १ हजार १९२ मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०८२-८३ मा पनि दलहन उत्पादन सोही परिमाणमा रहेको छ ।

दलहनतर्फ भटमास सबैभन्दा बढी ६७० मेट्रिक टन उत्पादन भएको छ । मास १७० मेट्रिक टन, राजमा तथा सिमी १६० मेट्रिक टन, गहत १३२ मेट्रिक टन र अन्य दलहन ६० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

नगदेबालीतर्फ भने उत्पादनमा वृद्धि भएको देखिएको छ । कार्यालय प्रमुख चौधरीका अनुसार जिल्लामा वार्षिक १३ हजार ६ सय मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । आलु दार्चुलाको अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, र व्याँस गाउँपालिकामा राम्रो उत्पादन हुने गरेको छ ।
उखुको उत्पादन आर्थिक वर्ष २०८१-८२ मा १ हजार ६८२ मेट्रिक टन रहेकोमा गत आर्थिक वर्ष बढेर २ हजार २ मेट्रिक टन पुगेको छ । जिल्लामा वार्षिक ११ हजार ६८४ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कार्यालयको तथ्यांक छ ।

तरकारी उत्पादन बढाउन स्थानीय सरकार, गैरसरकारी संस्था समेत जोडिएपछि किसान तरकारी उत्पादनमा लागेका छन् । यहाँका केही ठाउँमा किसानहरुले खेती छोडेर तरकारी उत्पादनतर्फ मात्रै लागेका छन् । जिल्लाको सबैभन्दा बढि तरकारी नौगाड र महाकाली नगरपालिकामा हुने गरेको छ ।
फलफूल उत्पादन पनि बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा २ हजार ५ सय ७६ दशमलव ५ मेट्रिक टन फलफूल उत्पादन भएकोमा गत आर्थिक वर्ष बढेर २ हजार ६२० मेट्रिक टन पुगेको छ ।

सुन्तलाको उत्पादन १ हजार ३१० मेट्रिक टनबाट बढेर १ हजार ४५० मेट्रिक टन पुगेको छ । सुन्तला खेतीको क्षेत्रफल १४० हेक्टर रहेको छ ।
मौसमीको उत्पादन ५८० मेट्रिक टन कायम रहँदा कागती उत्पादन भने घटेको छ । अघिल्लो आर्थिक वर्ष ३२० मेट्रिक टन उत्पादन भएको कागती गत वर्ष २५० मेट्रिक टनमा सीमित भएको छ ।
त्यसैगरी अमिलो फलको उत्पादन ३१८ मेट्रिक टनबाट बढेर ३२० मेट्रिक टन पुगेको छ भने अन्य फलफूलको उत्पादन ४८.५ मेट्रिक टनबाट बढेर ५० मेट्रिक टन पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कार्यालय प्रमुख चौधरीले उत्पादन वृद्धि गर्न व्यावसायिक खेती विस्तार, उन्नत प्रविधिको प्रयोग र किसानलाई प्राविधिक सहयोगलाई निरन्तरता दिइएको बताए । उनले भने, चालू आर्थिक वर्षमा समेत किसानलाई तरकारी, फलफुल र दलहन बाली उत्पादनको लागि निरन्तर प्रोत्साहन गरिन्छ ।
यो वर्ष भारतबाट आयात हुने तरकारी रोकिएपछि दार्चुलाकै स्थानीय उत्पादनले बजार समेत पाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार