दार्चुलामा योग र आयुर्वेदप्रति बढ्दो आकर्षण

दार्चुला । दार्चुलामा पछिल्लो समय योग तथा आयुर्वेद उपचारप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । नियमित योगाभ्यास र आयुर्वेदिक उपचारमा सेवाग्राहीको संख्या बढ्दै गएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाकी वरिष्ठ वैद्य कमला जोशीका अनुसार गत एक वर्षमा सदरमुकाम खलंगामा मात्रै ८७९ जनाले नियमित योगाभ्यास गरेका छन् । योगमार्फत विभिन्न स्वास्थ्य समस्याको व्यवस्थापन र उपचारमा सकारात्मक नतिजा देखिएपछि जिल्लामा योग शिक्षाप्रति जनचासो बढेको उनले बताइन् ।

हाल सदरमुकाम खलंगामा पतञ्जली योग समिति, महिला पतञ्जली समिति र युवा पतञ्जली समितिको सक्रियतामा चार स्थानमा नियमित योगाभ्यास सञ्चालन भइरहेको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले योगका लागि आवश्यक सामग्री उपलब्ध गराउनुका साथै निःशुल्क आयुर्वेदिक उपचार सेवा पनि प्रदान गर्दै आएको छ ।

केन्द्रका अनुसार गत आर्थिक वर्षमा ४ हजार ३ जनाले बहिरङ्ग ९ओपिडी० सेवा लिएका छन्। त्यस्तै १ हजार २१७ जनाले पञ्चकर्म सेवा, ५०२ जनाले ज्येष्ठ नागरिक सेवा, २१० जना स्तनपायी पशुका लागि औषधि वितरण सेवा तथा ९२० जनाले प्रयोगशाला (ल्याब) सेवा प्राप्त गरेका छन् ।

दार्चुलामा हाल एउटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, उकु, ब्रह्मदेव, खण्डेश्वरी र गोकुलेश्वरमा आयुर्वेद औषधालय तथा लेकम, मार्मा, नौगाड र व्याँस गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा एक आयुर्वेद चिकित्सक, एक कविराज, दुई वरिष्ठ वैद्यसहित कुल ११ जना कर्मचारी कार्यरत छन्। सात दरबन्दी रहेको केन्द्रमा चार जना स्थायी र सात जना करार कर्मचारीबाट सेवा प्रवाह भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार