दार्चुला – दार्चुलामा हरेक वर्ष सिँचाइ पूर्वाधार निर्माणका नाममा कराेडाैं रुपैयाँ खर्च हुने गरे पनि अधिकांश खेतीयोग्य जमिन अझै वर्षाकै पानीमा निर्भर रहेको पाइएको छ । सरकारी तथ्यांकले नै जिल्लामा वर्षभरि सिँचाइ सुविधा नपुगेको देखाएको हो ।

कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार जिल्लाको कुल २९ हजार ५४४ हेक्टर खेतीयोग्य जमिनमध्ये २२ हजार ८२५ हेक्टरमा खेती भइरहेको छ । त्यसमध्ये ७ हजार ६५७ हेक्टर क्षेत्र मात्र सिँचाइ सुविधा पुगेको छ । जिल्लामा वर्षभरि नियमित सिँचाइ पुग्ने क्षेत्र भने ५ हजार ६९४ हेक्टर मात्रै रहेको छ ।
कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख बिक्रम चौधरीका अनुसार अझै १ हजार ९६३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ । ‘पानी नपरे ती क्षेत्रमा खेती गर्न अझै पनि समस्या हुन्छ,’ उनले भने ।

जिल्लामा हरेक वर्ष विभिन्न सरकारी निकायबाट सिँचाइ योजनामा ठूलो रकम खर्च हुँदै आएको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा कृषि ज्ञान केन्द्रले २० वटा साना सिँचाइ योजना निर्माण गरी ५६ लाख ३१ हजार १३३ रुपैयाँ खर्च गरेको छ । ती योजनाबाट ६० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख चौधरीले बताए ।
त्यस्तै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत ५९ वटा सिँचाइ पूर्वाधार निर्माण गरिएको छ । कार्यालय प्रमुख कमल तामाङका अनुसार ८२ लाख ८० हजार ४८१ रुपैयाँ खर्च गरी निर्माण गरिएका ती योजनाबाट २९.६ हेक्टर जमिन सिँचित हुने लक्ष्य राखिएको छ ।

भू तथा जलाधार व्यवस्थापन कार्यालयले गत वर्ष पाँच वटा सिँचाइ कुलो, चार वटा सिँचाइ पोखरी र तीन वटा रिचार्ज पोखरी निर्माण गरेको जनाएको छ । कार्यालयका अनुसार सिँचाइ कुलो निर्माणमा ४८ लाख ३४ हजार ५१० रुपैयाँ, सिँचाइ पोखरी निर्माणमा ३६ लाख ५८ हजार ५६७ रुपैयाँ तथा रिचार्ज पोखरीमा २२ लाख ६४ हजार २२० रुपैयाँ गरी कुल एक करोड ७ लाख ५७ हजार २९७ रुपैयाँ खर्च गरेको छ ।
सबैभन्दा बढी बजेट भने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले खर्च गरेको छ । कार्यालय प्रमुख इन्जिनियर नरेश शर्माका अनुसार गत आर्थिक वर्षमा सिँचाइ आयोजना सुधार तथा विस्तार कार्यक्रमअन्तर्गत २५ करोड ११ लाख रुपैयाँ खर्च गरी ३४९ वटा योजना निर्माण गरिएको छ ।
जिल्लामा कृषि पेशामा संलग्न कृषक परिवारको संख्या २४ हजार ९३० रहेको छ भने कुल कृषिमा संग्ल्न जनसंख्या १ लाख ११ हजार ९८० छ ।
धान उत्पादन घट्यो, गहुँ र मकै बढ्यो
दार्चुलामा सिँचाइमा गरिएको लगानीको अनुपातमा धान उत्पादन बढ्नुपर्ने अपेक्षा गरिए पनि पछिल्लो तथ्यांकले विपरीत अवस्था देखाएको छ ।
कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा धान उत्पादन अघिल्लो वर्षको तुलनामा ४१३ मेट्रिक टनले घटेको छ । आर्थिक वर्ष २०८१÷८२ मा १२ हजार ४८८ मेट्रिक टन धान उत्पादन भएकोमा गत वर्ष १२ हजार ७५ मेट्रिक टनमा मात्रै उत्पादन भयो ।
जिल्ला गहुँ र मकै उत्पादनमा भने वृद्धि भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा ११ हजार ३५० मेट्रिक टन गहुँ उत्पादन भएकोमा गत वर्ष ११ हजार ४१५ मेट्रिक टन पुगेको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा १० हजार २१० मेट्रिक टन उत्पादन भएको मकै गत वर्ष १८ हजार १४० मेट्रिक टन पुगेको छ । मकै उत्पादनमा अघिल्लो वर्ष भन्दा झन राम्रो उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार मकै खेतीको क्षेत्रफल पनि विस्तार भएकाले उत्पादन बढेको हो ।
यसैगरी कोदो उत्पादन १ हजार २५० मेट्रिक टनबाट बढेर २ हजार १४० मेट्रिक टन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर हो ।
फापर उत्पादन ९० मेट्रिक टनबाट ९५ मेट्रिक टन पुगेको छ भने जौँ उत्पादन भने घटेको छ । आर्थिक वर्ष २०८१÷८२ मा १ हजार ७० मेट्रिक टन उत्पादन भएको जौँ गत वर्ष ७३४ मेट्रिक टनमा झरेको कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाएको छ ।











